सञ्चारमाध्यमले जनताका पक्षमा वकालत गर्नुपर्दछ : प्रदेश प्रमुख गुरुङ

कास्की। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सञ्चारमाध्यमले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै जनताको पक्षमा वकालत गर्नुपर्ने बताएका छन्। पोखराबाट नियमित प्रसारण सुरु गरेको सिटीवान टेलिभिजनको मङ्गलबार शुभारम्भ गर्दै उनले प्रेसले जनताको पक्षमा वकालत गर्ने दायित्व पूरा गर्न नसक्दासम्म लोकतन्त्र सवल हुन सक्दैन भने। उनले भने, “अहिलेको प्रतिस्पर्धाका समयमा व्यावसायिक पत्रकारितासँगै मिडियाले सरकारले गरेका कमी–कमजोरी र निम्न तहका जनताका समस्या उजागार गर्नुपर्दछ।” प्रदेश प्रमुख गुरुङले नेपालको मिडिया क्षेत्र अहिले आम नेपालीको अधिकार सुनिश्चित गर्ने काममा निकै अगाडि रहेको उल्लेखसमेत गरे। टेलिभिजनले मानवअधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। नेपाल पत्रकार महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारमाध्यम खोल्ने प्रतिस्पर्धा रहेको अहिलेको समयमा व्यावसायिक पत्रकारिताको मर्म, सिद्धान्त र आदर्शलाई आत्मसात गरेर सञ्चालन गर्नु र अगाडि बढाउनु मुख्य कुरा रहेको बताए।” सांसद खगराज अधिकारीले आम नागरिकको स्वतन्त्रताको मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए। गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान, प्रविधि तथा समाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले प्रदेशका समृद्धिमा टेलिभिजनले सघाउने विश्वास व्यक्त गरे। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले उद्योग व्यवसाय, पर्यटन, शिक्षालगायतका क्षेत्रका मुद्दाहरु टेलिभिजनले उठाउनुपर्ने बताए। टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापतिले कोरोना त्रासका बीचमा पनि टेलिभिजन सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण रहे पनि दूरदराजका आवाजविहीनहरूको आवाजलाई आम दर्शकमाझ ल्याइने प्रतिबद्धता व्यक्त गरे। टेलिभिजनका कार्यक्रमहरू विभिन्न सामाजिक सञ्जाल तथा मोबाइल एप्स, वेबसाइटमार्फत हेर्न सकिने प्रबन्ध निर्देशक अनिषा श्रेष्ठले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×