काठमाडौँ- सन् २०१९ मा बलिउड अभिनेता ऋतिक रोशन अभिनीत दुई फिल्म प्रदर्शनमा आए। प्रदर्शन भएको सुपर ३० र वार दुवैले बक्स अफिसमा आफूलाई सफल बनाए। कोरोना भाइरस (कोभिड १९) को कारण ऋतिकको केही प्रोजेक्टमा ढिलाई हुँदा उनलाई पर्दामा देख्न पाइएको छैन। यद्यपि ऋतिकलाई लिएर जोडिएको केही फिल्महरूको बारेमा खबरहरू सार्वजनिक भएसँगै दर्शकहरू प्रतीक्षामा छन्। ऋतिकको फिटनेस, एक्सन, डान्स र स्टाइलसँगै अभिनयले पनि उनलाई दर्शक माझ प्रतीक्षित बनाएको छ।
ऋतिकले दीपिका पादुकोणसँग स्क्रिन सेयर गरेको फिल्म,फाइटरु लाई दर्शकले प्रतीक्षा गरिरहेका छन्। अनिल कपूर, कुनाल कपूर लगायतको समेत अभिनय रहेको फिल्म आउँदो वर्ष मात्र दर्शकले हेर्न पाउनेछन्। यस्तै ऋतिकको ‘विक्रम वेधा’ पनि प्रतीक्षित फिल्म मध्येको एक हो। तामिल फिल्मको रिमेक रहेको फिल्ममा ऋतिकसँगै सैफअलि खान, राधिका आप्टे, रोहित सराफ, योगिता बिहानी लगायतको अभिनय रहेको छ। फिल्मलाई दर्शकले यसै वर्ष हेर्न पाउने छन्।
ऋतिकलाई इन्डियन सुपरहिरोको रुपमा चिनाउने फिल्म ‘क्रिस’ पनि प्रतीक्षित नै छ। यो फिल्मको छायांकन यसै वर्षको अन्त्यसम्ममा गर्ने तयारी ऋतिकले गरिरहेका छन्। प्रियंका चोपडालाई लिने वा नयाँ कास्टलाइ यसको पनि अलमल टिमलाई छ । ऋतिककै पिता राकेश रोशन बिरामी भएकाले पनि यसको काम ढिला भएको हो।