नेपालगञ्जबाट सुरु भयो ‘महापुरुष’को पोस्ट-रिलिज प्रचार

काठमाडौँ - अहिले हलमा चलिरहेको महजोडी स्टारर फिल्म ‘महापुरुष’लाई दर्शकले रुचाइरहेका छन्। पहिलो सप्ताहन्त उत्कृष्ट कमाइ गरेको फिल्मलाई बलियो वर्ड अफ माउथ मिलिरहेको छ।

पहिलो साता फिल्मले ४ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने प्रक्षेपण छ। दोस्रो साता पनि ठूला फिल्म नभएकाले यसको फाइदा महापुरुषलाई नै हुने देखिन्छ। विकडेजमा समेत ५० प्रतिशतभन्दा बढी अकुपेन्सीसहित प्रदर्शन भइरहेको फिल्ममा दर्शकलाई तान्ने अभियान निर्माताले थालेका छन्। यतिबेला निर्माताको जोड मोफसल केन्द्रित देखिन्छ।

जसअनुसार निर्माता र कलाकारको टोली बुधबार पश्चिम नेपालको प्रमुख फिल्म बजार नेपालगञ्ज पुगेको छ। त्यसपछि सुदूरपश्चिम, लुम्बिनी प्रदेशका हल हुँदै पूर्वी नेपालका हलमा ‘क्याम्पेन’ चलाउँदै फिल्मले दर्शकसँग साक्षात्कार गर्नेछ। कात्तिक १६ मा नेपालगञ्जमा दर्शक भेटघाट गर्ने टिमले १६ गते साँझ र १७ गते दाङ, १७ गते दिउँसो बुटवल र १८ गते नारायणगढका दर्शकसँग भेटघाट गर्दै काठमाडौँ फर्किनेछ।

महापुरुषको ‘पोस्ट-रिलिज’ भ्रमणमा रविन्द्रसहित निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली सामेल भएका छन्। अघिल्ला आफ्ना फिल्म टलकजंग भर्सेस टुल्के, जात्रा र जात्रैजात्रालाई पनि ती सहरबाट राम्रो प्रतिक्रिया मिलेको बानियाँले बताएका छन्। निर्देशक भट्टराई पनि दर्शकीय प्रतिक्रिया सकारात्मक रहेको बताउँछन्।

‘हामीले भन्न खोजेको विषयलाई कसरी लिनुहुन्छ भन्ने सोचिरहेको थिएँ। हल भिजिटमा पाएको प्रतिक्रियाले झनै हौसला मिलेको छ। यो हाम्रो समाजको गम्भीर विषयको सरल प्रस्तुति हो,’ निर्देशक भट्टराईले भने। अमेरिका भ्रमणमा रहेका अभिनेता हरिवंश आचार्यले भिडियो सन्देशमार्फत फिल्म हेर्न अपील गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×