तीनै तहका सरकार मिलेर काम गरे समृद्धि चाँडै सम्भव : मन्त्री ढकाल

काठमाडाैं । बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले रोशी गाउँपालिकामा प्रदेश सरकारबाट सबैभन्दा बढी बजेट विनियोजन गरेको दाबी गरेका छन् ।

रोशी गाउँपालिका वडा नं. ९ रजवशमा रहेको श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयको ५२ औँ वार्षिकोत्सव तथा विज्ञान प्रयोगशाला, खानेपानी र शौचालय उद्घाटन एवं पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले उक्त दाबी गरेका हुन् ।

रोशी गाउँपालिका भरिमा पनि वडा नं. ९ मा सबै भन्दा बढी बजेट विनियोजन गरेको बताउँदै अब आफ्नै पालोमा पिन्थली–रजवश–भुमेचुली हुँदै महाभारत जोड्ने सडक पिच हुने बताए ।

‘मेरो निर्वाचन क्षेत्र अन्तर्गत रोशी गाउँपालिकामा सबैभन्दा बढी बजेट परेको छ । त्यसमा पनि वडा नं. ९ मा सबैभन्दा बढी बजेट परेको छ । मुख्यतः पिन्थली–रजवश–भुमेचुली हुँदै महाभारत जोड्ने सडक र पर्यटन विकासको लागि भ्यु टावर निर्माणमा बजेट विनियोजन भएको छ । काम पनि भइरहेको छ ।’ उनले भने, ‘यो सडकको स्तरोन्नति हुँदै छ । महाभारत जाने सबैभन्दा छोटो बाटो यही हो । मेरै कार्यकालमा पिच गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।’

यो क्षेत्रको विकास सबैभन्दा बढी आफूहरूले चाहेको बताउँदै मन्त्री ढकालले त्यसको नेतृत्व पनि आफूहरूले नै गर्ने बताए ।

मन्त्री नियुक्त भएपछि गृह जिल्लामा भएको पहिलो कार्यक्रममा आफूले विचारको आधारमा विकास निर्माणलाई नहेर्न बताउँदै तीनै तहका सरकार मिलेर काम गरेमा समृद्धि चाँडै सम्भव भएको समेत बताए ।

‘संविधानले तीन तहको सरकारको व्यवस्था गरेको छ । जस अनुसार तीनै तह सक्रिय छ ।’ ढकालले भने, ‘यहाँको समग्र विकासका लागि तीनै तहका सरकारले समन्वय गर्नुपर्छ, मिलेर विकास गर्नुपर्ने हुन्छ । तीनै तहको उचित समन्वय भएन भने समृद्धि सम्भव छैन ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×