बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवी

काठमाडौँ - बलिउडमा लामो समयसम्म राज गरेकी अभिनेत्री हुन, श्रीदेवी। बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीले आफ्नो करिअरमा ३ सयभन्दा धेरै फिल्ममा काम गरिन्।

उनले अभिनयबाट निर्माताको रुपमा आफ्नो परिचय बनाइन्। बलिउडमा त उनको छाप थियो नै हलिउड निर्देशक स्टीभन स्पीलबर्गसम्मले उनलाई आफ्नो फिल्मका लागि कास्ट गर्न खोजेका थिए।

श्रीदेवीले सन् २०१८ मा संसार छोडिन्। जीवित हुन्थिन् भने उनी अहिले ५८ वर्षकी हुन्थिन्। श्रीदेवीको जन्म आज (शनिबार)कै दिन १९६३ मा भएको थियो। बाल कलाकारको रुपमा पर्दामा प्रवेश गरेकी श्रीदेवी बलिउडकै पहिलो महिला सुपरस्टार बन्दासम्मको उनको यात्रा रोमाञ्चक छ। श्रीदेवीले ४ वर्षको उमेरमा फिल्म क्षेत्रमा कदम राखेकी थिइन्। 

तमिल फिल्म ‘कन्दन करुनल’मा श्रीदेवीको पहिलो अभिनय रहेको थियो। २ वर्षपछि प्रदर्शन भएको ‘ठुनैभान’मा उनि मुरुगाको बाल्यकालको भूमिकामा देखिएकी थिइन्। बाल्यकालबाटै अभिनयमा प्रवेश गरेकी श्रीदेवीको एउटा परिचय बनिसकेको थियो। त्यहि परिचयका कारण १९७२ मा उनले बलिउडमा पनि बाल कलाकारकै रुपमा डेब्यु गरिन्। केएसआर दासको फिल्म ‘रानी मेरा नाम’मार्फत् श्रीदेवीको बलिउड डेब्यु भएको थियो।

१९८० देखि १९९० को दशकमा श्रीदेवी र अनिल कपुरको जोडी बलिउडमा निकै चर्चित रहेको थियो। सँगै उनीहरुले १३ फिल्ममा काम गरेका थिए। तीमधये ‘मिस्टर इण्डिया’, ‘लम्हे’, ‘लाडला’ र ‘जुदाई’ निकै चर्चित थिए। अभिनेता जितेन्द्रसँग पनि श्रीदेवीको जोडीलाई दर्शकले मन पराएका थिए। जितेन्द्र र श्रीदेवीले १६ फिल्महरुमा काम गरेका थिए।

श्रीदेवीको जीवनको रोचक पक्ष थुप्रै छ। बाल कलाकारकै रुपमा स्थापित उनले १३ वर्षको उमेरमा दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको सौतेनी आमाको भूमिका पनि निभाएकी थिइन्। त्यो फिल्म थियो १९७६ को ‘मोन्द्रु मुडिचु’।

त्यो बेला नै फिल्ममा गरेको कामका लागि श्रीदेवीले रजनीकान्तलेभन्दा धेरै पारिश्रमिक लिएकी थिइन्। दक्षिण भारतीय फिल्म उद्योगबाट पर्दामा प्रवेश गरेकी श्रीदेवीको प्रभाव सोही उद्योगमा मात्रै थिएन। बलिउडदेखि दक्षिण भारतीय उद्योगमा उनले एक समय शासन नै गरेकी थिइन्। फिल्ममा श्रीदेवीको नाम भएकै कारण पनि दर्शक हलसम्म जाने अवस्थासमेत थियो।

तर, करिअरको सुरुवातमा श्रीदेवीले आफ्नो फिल्ममा आफैं आवाज दिन सक्दिन थिइन्। उनको आवाजका रुपमा अभिनेत्री रेखा र नाजले डब गर्ने गर्थे। उनको प्रभाव भारतमा थियो नै, हलिउडमा पनि उस्तै थियो। प्रसिद्ध हलिउड निर्देशक स्टिभल स्पिलबर्ग उनको अभिनयका प्रशंसक थिए।

१९९३ मा स्पिलबर्गले श्रीदेवीलाई आफ्नो फिल्म ‘जुरासिक पार्क’मा काम गर्नका लागि प्रस्ताव गरेका थिए। त्यो बेला श्रीदेवीको नाम संसारमै उत्कृष्ट अभिनेत्रीहरुमा थियो। स्पिलबर्गले फिल्ममा काम गर्नका लागि श्रीदेवीलाई सम्पर्क पनि गरेका थिए। तर, श्रीदेवीले हिन्दी भन्दाबाहेक अरु फिल्म नखेल्ने भन्दै उनको प्रस्तावलाई अस्विकार गरेकी थिइन्। श्रीदेवीलाई भारत सरकारले २०१३ मा पद्यश्री सम्मान दिएको थियो।

फिल्ममै गरेको कामका लागि त उनले अन्य पनि थुप्रै सम्मान पाएकी थिइन्। तर, २०१३ मा भारतीय सिनेमाको १०० वर्ष पुगेको अवसरमा उनलाई पद्यश्री दिइएको थियो। सँगै सोही वर्ष सिएनएन र आइबीएनले गरेको सर्वेक्षणमा श्रीदेवी पछिल्लो शताब्दीकै महान अभिनेत्री घोषित भएकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×