काठमाडौँ - मालिका गाउँपालिका–७ बिममा रहेको ११५ वर्ष पुरानो धार्मिक तथा ऐतिहासिकस्थलको प्रचारप्रसार र संरक्षणमा स्थानीयवासी जुटेका छन्।
करिब ११५ वर्ष अघि बालतपस्वी चैतन्य महाप्रभुका परमशिष्य कपिलानन्द स्वामीजीले विसं १९६२ तिर यही स्थलमा आई तपस्या गरेको ऐतिहासिक तथ्य भेटिएपछि डा. रुद्रानन्द ब्रह्मचारीको प्रमुख अध्यक्षतामा आध्यात्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियानको घोषणा भएको हो।
बिमस्थित प्रभुचेला धुरीको नामले चिनिने ऐतिहासिक तपोस्थललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन पलवीर जुग्जालीको अध्यक्षतामा समिति नै गठन गरेर स्थानीय प्रभुचेला ध्यानाश्रम निर्माणार्थ प्रभुचेला ध्यानाश्रम तदर्थ समिति गठन भएको छ। समितिको उपाध्यक्षमा बुद्धिबहादुर जुग्जाली, सचिव खिमबहादुर जुग्जाली, सहसचिव लक्ष्मण गौतम, कोषाध्यक्ष कालिप्रसाद जुग्जाली, सहकोषाध्यक्ष ओममाया जुग्जाली रहेका छन्।
बिममा रहेको प्रभुचेला धुरी र स्वर्गाद्वारी क्षेत्र बिचको सहकार्य र अभियानलाई जोड्न योग गुरु नवीन जुग्जाली संयोजक र सहसंयोजक रुविन जुग्जालीलाई चयन गरिएको छ। समुंद्र सतहदेखि करिब दुई हजार ४०० मिटर उचाईमा अवस्थित प्रभुचेला धुरीको खोज तथा अनुसन्धानको सिलसिलामाम करिब २ वर्ष अघि स्वर्गद्वारी आश्रम प्युठानमा पुगिएको थियो।
स्वर्गद्वारी आश्रमबाट गत फागुन १० मा स्वामी डा रुद्रानन्द ब्रह्माचारी स्वामी कमल गौतम र स्वामी अजित धितोलहरु बिम गाउँको प्रभुचेला धुरीमा पुगेर स्थलगत अध्ययन र अवलोकन गर्नुभएको मालिका गाउँपालिका ७ विमका वडाअध्यक्ष सुविन जुग्जालीले जानकारी दिएका छन्।