काठमाडौँ - प्रिमियर लिगको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ। लिभरपुलले मंगलबार राति साउथह्याम्पटनमाथि २–१ को विजय हासिल गरेपछि प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बनेको हो। यससँगै जारी सिजन चार उपाधि जित्ने लिभरपुलको सम्भावना पनि जिवित भएको छ।
गत शनिबार एफए कपको उपाधि जितेको लिभरपुलले यसअघि लिग कपको पनि उपाधि जितेको थियो। पाहुना टोली लिभरपुलले एक शून्यले पछि परेको स्थिति उल्टाउँदै महत्वपूर्ण नतिजा निकाल्न सफल भएको हो।
साउथह्याम्पटनले नाथन रेडमोन्डको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो। २७औं मिनेटमा लिभरपुलका ताकुमी मिनामिनोले बराबरी गोल फर्काएका थिए। ६७औं मिनेटमा जो माटिपले गरेको गोल लिभरपुलको जितमा निर्णायक बनेको थियो।
जितसँगै योर्गान क्लोपको लिभरपुलले अन्तिम एक खेल बाँकी हुँदा ८९ अंक जोडेको छ। जुन शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा एक अंकले पछाडि हो।
अब प्रिमियर लिगको उपाधि अन्तिम खेलको नतिजाले टुंगो लगाउने भएको हो। लिभरपुलले आइतबार राति उल्भरह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ। सिटीले भने एष्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ। दुबै टोलीले घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछन्। ‘‘यससिजन जे भइरहेको छ। त्यसमा हामीले गौरव गर्न लायक प्रदर्शन गरेका छौं,’’ लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरले भने, ‘‘हामीले गर्न सक्ने भनेको उपाधि होड अन्तिम खेलसम्म लौजानु थियो। त्यसमा हामी सफल भयौं।’’
उपाधि होडमा लिभरपुलको भन्दा सिटी को सम्भावना बलियो छ। किनकी सिटी बलियाे टीम हो। सिटीले खेल जित्यो भने उपाधि जित्छ।
लिभरपुल च्याम्पियन्स लिगको पनि फाइनलमा स्थान बनाउन सफल भएको छ। लिभरपुलले च्याम्पियन्स लिगको उपाधिका लागि २८ मेमा रियाल मड्रिडविरुद्ध प्रतिस्पर्धा गर्नेछ।