काठमाडौँ । तानसेन नगरपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ।
सत्तरी वर्षमाथि नागरिक, क र ख वर्गको सुविधा प्रयोग गर्ने अपाङ्गता भएकाका लागि आवश्यकमात्रामा सेवा थालनी गरेको हो। तानसेन नगर प्रमुखअशोककुमार शाहीले नगरपालिका र रेडक्रस सोसाइटीका सहयोगमा एम्बुलेन्स सञ्चालन गर्न थालिएको जानकारी दिए। नगरपालिकाको ६० र सोसाइटीको ४० प्रतिशत लगानीमा एम्बुलेन्स गरी खरिद गरी सञ्चालन गर्ने तयारी भएको नगरप्रमुख शाहीले बताए।
यसैबीच, सो नगरपालिकाले तानसेन–९, दमकडास्थित दमकडा माध्यमिक विद्यालयका लागि बस खरिद गर्न सहयोग गर्ने भएको छ। विद्यालयको ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशतमा बस खरिद गरिने जनाइएको छ। बस सञ्चालनपछि ग्रामीण क्षेत्रका विद्यार्थी समयमा विद्यालयमा उपस्थित हुन सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालले बताए।
यसैबीच, आव २०७८-०७९ मा जिल्लाका ७० वर्षदेखि माथिका पाँच हजार ४०० ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सुविधा प्रदान गरिने भएको छ। ज्येष्ठ नागरिकलाई १० प्रकारको औषधिसमेत सहित प्रेसर जाँच, युरिन जाँच, घाउँ तथा चोटपटकको उपचार, आवश्यकताका आधारमा स्वास्थ्य परीक्षणको सुविधा प्रदान गर्न थालिएको हो। लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार पाल्पाका ज्येष्ठ नागरिकका घरमा स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परीक्षण गरी उपचार गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ।
लुम्बिनीका ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताए।