काठमाडौँ - ‘द कश्मीर फाइल्स’को सफलतापछि बलिउड निर्देशक विवेक अग्निहोत्रीको नयाँ फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ। तर अब प्रतीक्षाको घडी सकिएको छ.
विवेक अग्निहोत्रीले आफ्नो आगामी फिल्मको शीर्षक घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत विवेकले आगामी फिल्म ‘द भ्याक्सिन वार’ हुने जानकारी दिएका छन्। साथै उनले फिल्मको रिलिज मिति समेत सार्वजनिक गरेका छन्। ‘द भ्याक्सिन वार’ आगामी वर्षको १५ अगस्टमा रिलिज हुनेछ। यो दिन भारतको स्वतन्त्रता दिवस समेत हो।
विवेकले आफ्नो नयाँ फिल्म १० भाषामा रिलिज हुने समेत बताएका छन्। फिल्म हिन्दीका साथै अंग्रेजी, तेलुगू, तमिल, मलायलम, कन्नड, भोजपुरी, पञ्जाबी, गुजराती, मराठप् र बंगाली भर्सनमा रिलिज हुनेछ।
फिल्मले कोरोनाविरुद्धको खोपमा विश्व राजनीतिको विषयलाई उठान गर्ने उनले संकेत गरेका छन्। फिल्मको निर्मातामा पल्लवी जोशी रहनेछिन्। कलाकारका विषयमा भने कुनै पनि घोषणा गरिएको छैन।