काठमाडौँ - नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीलाई ग्रामी अवार्डको भोटिङ सदस्यता प्रदान गरिएको छ। संगीतको क्षेत्रमा विश्वप्रतिष्ठित यस अवार्ड शोमा गायक क्षेत्री विभिन्न देशका सेलिब्रेटीहरूमध्ये एक भोटरको रूपमा आबद्ध भएका हुन्।
गायक क्षेत्रीले यसबारे जानकारी दिँदै बुधबार सामाजिक सञ्जालमा ग्रामीबाट आएको निमन्त्रणा पत्र राख्दै लेख्छन्, 'हामी सबैजना ग्रामी हेरेर हुर्कियौँ। यस रेकर्डिङ एकेडेमी (ग्रामी) को भोटिङ सदस्यको रूपमा आबद्ध हुन पाउनु भनेको रोचक कुरा हो। निमन्त्रणा स्वीकार्दै नयाँ ‘ग्रामी मेम्बर क्लास २०२२’ को एक हिस्सा भएर सांगीतिक समुदायका लागि योगदान र अभियानमा आबद्ध थुप्रै प्राफेसनलहरूसँग मिलेर काम गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भइरहेको छ।'
ग्रामीले उनलाई संगीतको बोल्ड नयाँ पुस्ताको ट्याग दिँदै निमन्त्रणा पठाएको हो।
भारतको कालिम्पोङमा जन्मिएका क्षेत्रीले २०१४ बाट गायन करिअर सुरु गरेका थिए। उनका गहिरो गहिरो, आशिष, टिस्टा लगायतका गीत हिट मानिएका छन्।