काठमाडौँ - अस्ट्रेलियासँगको तेस्रो टी-२० क्रिकेटमा श्रीलङ्का विजयी भएको छ। श्रीलङ्काले तेस्रो टी-२० मा अस्ट्रेलियालाई ४ विकेटले हराएको हो।
जितको लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै भेट्टाएको थियो। श्रीलङ्काका कप्तान दासुन शनका ५४ रनमा अविजित रहेका थिए। पाथुम निसङ्काले २७ र चरिथ असलङ्काले २६ रन जोडेका थिए।
अस्ट्रेलियाका जोश हेजलवुड र मार्कस स्टोइनिसले २/२ विकेट लिएका थिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो। अस्ट्रेलियाका स्टिभ स्मिथ ३७ रनमा अविजित रहेका थिए।
डेविड वार्नरले ३९ र मार्कस स्टोइनिसले ३८ रन जोडेका थिए। श्रीलङ्काका महेश थेक्सनाले २ तथा वानिन्दु हसरङ्गाले १ विकेट लिएका थिए। तीन टी-२० खेलको श्रृङ्खला अस्ट्रेलियाले २-१ ले जितेको छ। अस्ट्रेलिया पहिलो खेलमा १० र दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो।