काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई अतिथि बनाउँदै महिला क्रिकेट टोलीका कप्तान रुबिना क्षेत्री र उपकप्तान सीता रानामगरलाई यूएईमा भएको फेयर ब्रेक इन्भिटेसन क्रिकेट प्रतियोगिताका लागि बिदाइ गरेको थियो।
सीताको हकमा त उनले पहिलो पटक विदेशी प्रतियोगिता खेल्ने मौका पाएकी थिइन्। एक्सपोजर अभावमा नेपाली महिला टोली कसरी थला परेको छ त्यो १५ वर्षको नतिजाले नै प्रस्ट्याउँछ। त्यसैले दुई साताअघि रुबिना र सीता दुबईमा विश्व महिला क्रिकेटको जमघटमा जाँदा यसले नेपाली क्रिकेटमा ठूलै तरङ्ग ल्याउन सक्ने अनुमान गरिएको थियो।
दुबईमा सीमित मौका पाएकी रुबिनाले शनिबार नै काठमाडौं फर्किएर सोमबार युगान्डासँगको खेलमा कप्तानी गरेकी थिइन्। पहिलो पटक अफ्रिकन टोलीसँग खेलिएको खेलमा नेपाली महिला टोली १२ रनले स्तब्ध हुँदा चर्चामा रहिन् सीता। किनकि सीताले टोर्नाडोजलाई च्याम्पियन बनाउँदा गजबको प्रदर्शन दिएकी थिइन्।
सीताले टोर्नाडोजले खेलेका सबै ७ खेल खेलेकी थिइन्। त्यसमा ४ महत्त्वपूर्ण विकेट लिइन्। फाल्कन्ससँगको खेलमा अविजित १८ रन बनाएर उनले आफ्नो क्षमता देखाइन्। त्यसबाहेक पनि ‘पुष्पा’ र ‘आर्मी स्यालुट’ सेलिब्रेसनका कारण उनी विश्वभर चर्चामा रहिन्। सीताले भनिन्, ‘१५ वर्षको खेलजीवनमा सबैभन्दा राम्रो अनुभव बटुल्न पाइयाे'।
सीताको टोली टोर्नाडोजले आइतबार राति ९ बजेपछि फाल्कन्सविरुद्ध फेयर ब्रेकको फाइनल खेलेको थियो। यता क्यानले आइतबार साँझ नै विज्ञप्तिमार्फ नेपाली महिला टोलीको उपकप्तानबाट सीतालाई हटाएर इन्दु बर्मालाई जिम्मेवारी सुम्पेको थियो। सीता सन् २०१६ यता नेपालको उपकप्तान रहँदै आएकी थिइन्।
युगान्डासँग पहिलो खेलमा नेपालको हारपछि सीताको चर्चा दुबईमा फेयर ब्रेकमा पाएको सफलताले नभई उनीबाट छिनिएको उपकप्तान र उनको कमीका कारण थियो। सीता सोमबार साँझमात्र नेपाल फर्किएकी छिन्। उनी मंगलबार बिहान टिममा मिसिने छिन्। तर, युगान्डासँग मंगलबार सीताले खेल्ने/नखेल्ने टुंगो छैन।
‘उपकप्तान परिवर्तन बोर्डले गरेको निर्णय हो। सीता राम्रो खेलाडी हो, तर बोर्डले गरेको निर्णयमा हामीले केही गर्न मिल्दैन। बोर्डको निर्णय हामीले सम्मान गर्नुपर्छ,’ बोर्डले उपकप्तान परिवर्तन गर्ने विषयमा आफूसँग सोधेको जनाउँदै प्रशिक्षक जगत टमाटाले भने, ‘नयाँ खेलाडीहरू छन, उनीहरूलाई पनि हेर्नुपर्छ। रुबिनाले पनि अब कति खेल्न सक्छिन् भन्ने छ।’
प्रशिक्षक टमाटा छनोट समिति हुँदै बोर्डमार्फत आफूसम्म उपकप्तान परिवर्तनको निर्णय आइपुगेको जनाउँछन्। रुबिना र सीतापछि २४ वर्षीया इन्दु महिला टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्। अर्का अनुभवी खेलाडी करुणा भण्डारीलाई युगान्डासँगको शृंखलामा राखिएको छैन। चोटका कारण करुणालाई नराखिएको प्रशिक्षक टमाटाले बताए।
‘स्थायी रूपमा उपकप्तान परिवर्तन गरिएको हो। यो बोर्डको निर्णय हो, तर एउटा नयाँलाई उपकप्तानको मौका दिने भन्ने थियो। त्यसबाहेक मलाई अरू केही थाहा छैन। किनभने म दुबईबाट आइपुगेलगत्तै उपकप्तान परिवर्तन भएको थियो। अरू खेलाडी नयाँ उपकप्तानको विषयमा खुसी नै थिए,’ सीतासँग बोर्डले छलफल गरेको/नगरेको त्यो आफूलाई थाहा नभएको बताउँदै रुबिनाले सुनाइन्, ‘मैले पनि सीतासँग समन्वय नै गर्न पाएको छैन। उपकप्तान परिवर्तनको विषयमा बोर्डले मसँग छलफल गरेको थियो।’
सीता नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले २१ खेलमा २७.४३ को औसतमा ४ सय ३९ रन बनाएकी छिन्। नोभेम्बरमा कतारविरुद्ध दोहामा उनले बनाएको अविजित ८२ रन नेपाली महिला ब्याटरको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उच्च स्कोर हो। उनले २१ विकेट लिएकी छिन्।
‘निश्चय पनि यो खेलमा सीताको कमी महसुस भएको छ किनभने उनि नेपाली टोलीको प्रमुख खेलाडी हुन्। त्यस्तो खेलाडी नहुँदा अलिकति कमजोरी देखिन्छ नै,’ रुबिनाले सीताको बारेमा भनिन्, एउटा लयलाई टिमले कसरी लैजान सक्छ त्यो महत्त्वपूर्ण हो। एउटा कप्तानको रूपमा चाहिँ मैले एउटा परिपक्व अलराउन्डरको कमी भएको अनुभव गरें।’
सीता पहिलो खेलमा अनुपस्थित रहने भएकाले उनको स्थानमा इन्दुलाई उपकप्तान बनाइएको हुनसक्ने बताइएको थियो। तर क्यानले स्थायी रूपमा नै उपकप्तान परिवर्तन गरेर इन्दुलाई त्यो जिम्मेवारी दिएको जनाइसकेको छ। सन् २००७ मा नेपाल पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेक्रममा एसीसी महिला च्याम्पियनसिपको फाइनल पुगेको थियो। त्यसयता नेपालले त्यो प्रदर्शन दोहोर्याउन सकेको छैन। इन्दुलाई दिइएको उपकप्तानको जिम्मेवारी भविष्यको कप्तानका रूपमा पनि हेरिएको आफूले बुझेको रुबिना बताउँछिन्।