काठमाडौँ - काठमाडौं थापागाउँस्थित कुञ्ज थिएटर आरोहण गुरुकुलमा शनिबारदेखि नाटक ‘सेमुना’ मञ्चन गरिएको छ। असार ११ गतेसम्म मञ्चन हुने नाटकमा पूर्वी नेपालमा फैलिएर रहेका किँरात समुदायको संस्कार, संस्कृति, जीवनपद्धतिको पृष्ठभूमिसहित साकेला/साकेन्वालाई करिब तीन दशक पुरानो प्रेमकथासँग जोडेर प्रस्तुत गरिएको छ।
कथाकार दिलीप बान्तवाको कथामा आधारित रहेको नाटकको निर्देशन रंगकर्मी नीता राईले गरेकी छिन्।
बान्तवाका अनुसार सेमुना विशेष गरी माझकिँरात, भोजपुरको हतुवा, आमचोक, रामप्रसाद राई गाउँपालिका तथा खोटाङको बोपुङ् क्षेत्रतिर नै नाचिने साकेन्वार/साकेलानाचको नाम हो।
उनले भने, ‘हरेक उभौली र उद्यौलीमा पितृ तथा प्रकृतिको पुजा गर्दै नाचिने साकेलार/साकेन्वा किँरातीहरूको जीवनदर्शन हो।’
तत्कालीन समयमा सप्तकोशी (अरुण)नदीको किनारमाथी अजंगको भिर, त्यही भिरमा असंख्य मान्छेहरूले जोखिमपूर्ण यात्रा, साहुको भारीसँगै अरुण नदीमा खसाएका यात्रीहरूको जिन्दगीको कथा नै सेमुनाको सार रहेको उनले बताएका छन्। कथाको यही सारलाई नाटकमा रुपान्तरण गरिएको निर्देशक राईले बताएकी छिन्।