काठमाडौँ - पथरी भेट्रान र भाउन्ने भेट्रानबीच प्रथम भेट्रान प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ। मोरङको बेलबारी १० भाउन्ने खेलकुद मैदानमा सोमबार ३ बजेबाट फाइनल खेल हुने भएको हो।
फाइनलमा विजयी हुनेले ४० हजार र दोस्रोले २० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। सेमिफाइनलमा इटहरी भेट्रानलाई ८ गोलले पराजित गर्दै भाउन्ने भेट्रान फाइनलमा प्रवेश गर्न सफल भएको छ। त्यस्तै पथरी भेट्रान जदाहा भेट्रानलाई पराजित गरेर फाइनलमा पुगेको हो।
मिड भेट्रान भाउन्नेले गत ८ गतेबाट खेलको आयोजना गरेको थियो। आइतबार एक दिन स्थगन गरेर आज फाइनल खेल हुने भएको संयोजक जोनी मुखियाले जानकारी दिएका छन्।