काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले संविधानप्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयासको खाँचो औँल्याएका छन्। १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कृषिलाई श्रम र शिक्षालाई उत्पादनसँग जोड्दै श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न सङ्घीय संसद्को नेतृत्वका रूपमा आफू सदैव तत्पर रहेको विश्वास दिलाएका छन्।
नेपाली समाजको अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको स्मरण गर्दै सभामुख सापकोटाले उनीहरुप्रति सम्मान व्यक्त गरेका छन्। दुई वर्षयता कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरले श्रमिक तथा मजदुर वर्गले प्रत्यक्ष असर भोग्नुपरेको उल्लेख गर्दै उनले कोरोनाको प्रभावमा कमी आएसँगै लाखौँ श्रमिक खाली बस्नुपर्ने र श्रमका लागि विदेश पुगेका श्रमिक रोजगारी गुमाएर फिर्ता हुनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरेका छन्।
सभामुख सापकोटाले श्रमिक एवं मजदुर वर्गको विशिष्ट योगदानका कारण संविधानसभाबाट बनेको संविधानमा श्रमिक एवं मजदुर वर्गको हक, अधिकार समावेश भएको जनाएका छन्।