काठमाडौँ । रुकुमपूर्व भूमे गाउँपलिका–९ चुनबाङमा अस्पताल निर्माण गर्न लागिएको छ।
चुनबाङमा पाँच श्ययाको अस्पताल निर्माण गर्न लागिएको हो। चुनबाङमा निर्माण गर्न लागिएको पाँच श्ययाको पालिकास्तरीय अस्पताल भवनको शिलन्याससमेत गरिएको छ। गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्टले भवनको शिलन्यास गरेका हुन्। चुनबाङबाटै एमबिबिएस डाक्टरबाट सेवा दिने उदेश्यले निर्माण हुन लागेको अस्पतालको काम सुरु भएको छ। गाउँपालिकाको केन्द्रबाट पनि टाढा पर्ने र स्वास्थ्य सेवाका लागि अस्पताल पनि टाढा रहेकाले गाउँबाटै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले चुनबाङमा अस्पताल निर्माणको कार्य सुरु गरिएको गाउँपालिका उपाध्यक्ष विष्टले बताए।
चुनबाङबासीलाई मात्र नभई रोल्पाको थबाङ र परिवर्तन गाउँपलिकाका नागरिकलाई पनि त्यहाँबाट स्वास्थ्य सेवा लिन सहज हुनेछ। अस्पताल भवन निर्माणको जिम्मा प्राकृतिक रेभिट जेभी रोल्पाले लिएको छ। विसं २०७८ असार २८ मा सम्झौता गरेको निर्माण कम्पनीले २०८० असार २८ मा भवन निर्माणको काम सक्नुपर्ने गाउँपालिकाले जनाएको छ। निर्माण कम्पनीले रु. छ करोड ९५ लाखमा भवन निर्माणको जिम्मा लिएको छ।
भवन २५ कोठासहित डेढ तलाको हुने गाउँपालिकाका सबइञ्जिनियर सन्तोष घर्तीले बताए।