काठमाडौँ - नन्दन यादवलाई समावेश गर्दै आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबियामा हुने शृखंलाका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।
नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित लिग टु को शृंखला डिसेम्बर १ देखि ८ सम्म (मंसिर १५-२२) नामिबियाको विन्डहोकमा हुनेछ। लिग टु खेल्ने टोलीमा समावेश भएपछि नन्दन यादवले नेपाली राष्ट्रिय टोलीमा इन्ट्री मारेका छन्। उमेर समूहमा उनकै टिममेट रोहित पौडेल अहिले सिनियर टिमको कप्तान बनिसकेका छन्।
नन्दनले भने नयाँ प्रशिक्षक मनोज प्रभाकरको बगमनपछि पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन्। तर घरेलु मैदानमा युएई विरुद्ध एकदिवशीय अन्तर्राष्ट्रिय (ओडीआई) शृखंला खेल्ने टिममा रहेका भीम सार्की, आदिल आलम र कमल सिंह ऐरी भने बाहिरिएका छन्।
युएई विरुद्ध ओडीआई सिरिज खेलेका १६ मध्ये १३ जना टिममा यथावत रहेका छन्। भीम, आदिल र कमलले युएई विरुद्ध ३ खेल शृखंलामा १ खेल पनि खेलेनन्। युएई विरुद्धकै खेलमा डेब्यु गरेका अलराउण्डर हरिशंकर शाहले पनि टिममा निरन्तरता पाएका छन्। प्रशिक्षक प्रभाकरले युएई विरुद्ध हरिशंकरलाई २ खेलमा मौका दिएका थिए।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा नन्दनसहित आसिफ शेख, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, हरिशंकर शाह, सागर ढकाल रहेका छन्।
प्रभाकरले आदिल आलम टी-२० फर्म्याटमा ठिक हुने खेलाडी भन्दै ५० ओभरको खेल खेल्नेका लागि लामो समय क्रिजमा टिक्ने खेलाडी हुनेपर्ने प्रतिक्रिया दिएका थिए। नामिबिया जानुअघि नेपाली टोलीले केही दिन तयारी गर्नेछ। नेपाली टोली आगामी सोमबार नामिबिया प्रस्थान गर्ने कार्यक्रम छ।
डिसेम्बर १ देखि ८ सम्म हुने लिग २ मा नेपालले नामिबिया र स्कटल्यान्डसँग २/२ खेल खेल्नेछ। नेपालले पहिलो खेल घरेलु टोली नामिबियासँग डिसेम्बर २ मा खेल्नेछ। यस्तै स्कटल्याण्ड्सँग डिसेम्बर ४ मा, नामिबियासँग डिसेम्बर ७ र स्कटल्यान्डसँग डिसेम्बर ८ मा खेल्नेछ।