काठमाडौँ - प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमै हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले यसअघि सार्वजनिक गरेको खेल तालिकाअनुसार सेमिफाइनल २ खेल कात्तिक २४ गते एकै दिन फरक मैदानमा हुने भनिएको थियो।
तर, मूलपानी मैदानमा हुने दोस्रो सेमिफाइनल खेल त्रिवि मैदानमा सार्दै १ दिन पछि खेलाइने क्यानले मंगलबार जनाएको छ। यसअघि मूलपानीमा तय भएको खेल अब कात्तिक २५ गते त्रिविमैदानमा हुनेछ।
मूलपानी मैदानमा समूह चरणका खेलहरु खेलाइएको थियो। तर, मूलपानी विकेटमा सहभागी टिमका खेलाडीले नै असन्तुष्टि जनाइरहेका थिए। दोस्रो सेमिफाइनलमा २ विधागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन्।
त्यसअघि नेपाल एपीएफ क्लब र मधेश प्रदेशबीच कात्तिक २४ गते त्रिवि मैदानमा पहिलो सेमिफाइनल हुनेछ। फाइनल खेल यसअघि कै तालिका अनुसार कात्तिक २६ गते हुनेछ। कात्तिक २५ गते सेमिफाइनल खेल्ने विजेताले लगातार अर्को दिन फाइनल खेल्नुपर्ने हुन्छ।