एजेन्सी- क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले राजधानीमा भइरहेको आन्दोलन तत्काल अन्त्य गर्न आग्रह गरेका छन्। कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने व्यवस्थाका विरुद्धमा ट्रक चालकहरूले गरेको आन्दोलन रोक्न उहाँले आग्रह गरेका हुन्।
देशका विपक्षी दलका नेताहरूसँगको छलफलका क्रममा उनले आन्दोलन अन्त्यका लागि सहयोग गर्न पनि अनुरोध गरेका थिए। उनले विपक्षी दलका नेताहरुलाई आन्दोलनको अवस्था, त्यसको असर र समाधानका उपायका बारेमा जानकारी गराएका थिए।
गत जनवरीको अन्त्यदेखि सुरु भएको आन्दोलन दिन प्रतिदिन चर्किदै गएको र धेरै हानी नोक्सानी भएको बताइएको छ। क्यानडा सरकारले सिमा नाका पार गर्नका लागि चालकहरुले कोरोनाभाइरस विरुद्धको खोप लगाएको हुनुपर्ने शर्त राखेपछि उनीहरू आन्दोलित भएका हुन्।
“सरकारले गरेको निर्णयका विरुद्धमा र अवैधानिक कार्यविरुद्धमा उभिनु र त्यसको अन्त्य गर्न संसदका सवै सदस्यहरूको दायित्व हो, यसमा सरकार मात्रै नभइ प्रतिपक्षी दलहरुको पनि जिम्मेबारी हुन्छ,” उनले भने। उनले आन्दोलन अन्त्यका लागि आँफुले र सरकारले विभिन्न पहल गरेको भएपनि अहिलेसम्म सफल हुन नसकेको पनि उल्लेख गरे।