अर्बौं रुपैयाँ बगाइयो तर नहरमा पानी बगेन

काठमाडौँ - झण्डै डेढदशकअघि कञ्चनपुरमा सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहर निर्माणमा अर्बौं रुपैया खर्च भए पनि पानी भने अझै बग्न सकेको छैन।

पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा समेटिएको महाकाली सिँचाइ आयोजनाले डेढ दशकमा २५ किलोमिटर मूल नहर पनि तयार गर्न सकेको छैन। आयोजनाको सुरुआतयता अहिलेसम्म रु. चार अर्ब ९२ करोड खर्च भइसकेको आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले जानकारी दिए।

हालसम्म १३ किलोमिटर मूलनहर निर्माण सकेर आयोजनाले रु. दुई अर्ब ३२ करोडको लागतमा थप १५ किलोमिटर मूल नहर निर्माण गरिरहेको छ। नेपाल–भारत सिमानाभन्दा वर (भीमदत्त नगरपालिका–९) मा छुटेको २२० मिटर मूल नहर पनि ठेक्का भएर निर्माणको चरणमा रहेको आयोजनाले जनाएको छ।

मुआब्जा वितरणको सकस, वनको रुख कटानलगायत समस्या झेल्दा ढिलासुस्ती  हुनाका साथै आयोजनाले आर्थिक अभावसमेत झेल्दै आएको छ। “आगामी असार मसान्तसम्म २५ किलोमिटर मूल नहर निर्माण सकिन्छ ।” इञ्जिनीयर पण्डितले भने, “आगामी वर्ष भित्रै शाखा नहर बनाएर मूल नहर बनेको क्षेत्र वरपर सिँचाइ पुर्याउने गरी काम गर्दैछौँ।”

शाखा नहर निर्माणका लागि मुआब्जा दिनुपर्ने जग्गाको सर्भेक्षणलगायत काममा भएको ढिलाइका कारण बनाइएको नहर पनि उम्रेको घाँसगायतले कतिपय ठाउँमा पुर्न थालेको भीमदत्त नगरपालिका–८ तिलाचौरका स्थानीयवासीको भनाइ छ। कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको आयोजनाअन्तर्गत महाकाली नदीबाट एक हजार २०० मिटर लामो मूल नहर भारतले बनाइदिनुपर्ने थियो। आयोजनाअन्तर्गत अहिले शुक्लाफाँटाको फुलेली गाउँसम्म मूल नहर निर्माण भइरहेको छ।

सोही क्रममा महाकाली नदीमा हेडरेगुलेटरलगायत नहरको काम भारतले बनाइसकेपनि नेपालतर्फ पानी छोड्दा त्यसको उपयोगितामा ध्यान दिन आवश्यक देखिन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×