हुम्ला - हुम्लाको सिमकोट गाउँपालिकाका एक जना पुरुष तीन दिनदेखि बेपत्ता भएका छन्। सिमकोट–७ घरभई हाल वडा–३ को तोर्पा गाउँमा बसोबास गर्दै आएका ४५ वर्षीय तुलसिंह सुनार तीन दिनदेखि सम्पर्कविहीन भएका हुन्। सुनार तोर्पा गाउँबाट सदरमुकाम सिमकोट बुधबार काम विषेशले आएको र सोही दिनदेखि हराउनुभएको परिवारले जनाएको छ। बुधबार घरबाट सिमकोट आएको भए पनि आफूले बिहीबारदेखि निरन्तर खोजीकार्य जारी राखे पनि फेला पार्न नसकिएको ज्वाई धनबिर सुनारले जानकारी दिए।
तीन दिनदेखि सम्पर्कविहीन भएका आफ्ना ससुरालाई खोजी गरिदिन आज शुक्रबार जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गरिएको बताए। पुरानो घर डाडाफयाँ र साथै आफन्तको गाउँ ठेहे, सिमकोटलगायत गाउँमा बिहीबार र शुक्रबार निरन्तर खोजी गर्दा भेटाउन नसकिएको उनले बताए।
उनले केही वर्ष यतादेखि डाडाफयाँ छोडर तोर्पा गाउँमा बसाइसराई गरेका थिए। बुधबारको दिन हावाहुरीका साथै हिमपातसमेत भएको थियो। उनलाई देख्नुहुने वा फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी चौकी वा धनबिर सुनारको सम्पर्क नम्बर ९८४१७५१२९४ मा सम्पर्क गरिदिन हुन आफन्तले अनुरोध गरेका छन्।