काठमाडौँ - मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसियाले कतार फिफा विश्वकप २०२२ मा तेस्रो स्थान हासिल गरेको छ।
शनिबार खलिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को जिभार्डिओल र मिस्लाभ ओर्सिचले १/१ गोल गरेका थिए। मोरक्कोको लागि अचराफ डारीले १ गोल फर्काएका थिए।
पहिलो हाफको ९ मिनेटमै २ गोल हुँदा खेल रोमाञ्चक अवस्थामा पुगेको थियो। तर, पहिलो हाफमा ३ गोल भएपनि दोस्रो हाफमा थप गोल हुन सकेन। खेलको सातौं मिनेटमा जोस्कोले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए। इभान पेरिसिकको पासलाई जोस्कोले हेड गोल गरेका थिए।
पहिलो गोल भएको २ मिनेट पछि नै अचराफले हेडमार्फत बराबरी गोल गरेका थिए। ४२औं मिनेटमा ओर्सिचले गोल गर्दै खेलमा क्रोएसियालाई विजयी बाटो डोर्याएका थिए।
जितसँगै सन् २०१८ को उपविजेता क्रोएसियाले कतार विश्वकपमा तेस्रो स्थानमै चित्त बुझाएको छ। पहिलो पटक सेमिफाइनल पुग्ने अफ्रिकन राष्ट्र बनेको मोरक्को चौथो स्थानमा रह्यो। आइतबार हुने फाइनलमा खेलमा २ पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। लुसेल मैदानमा हुने खेलमा पौने ९ बजे हुनेछ।