दीपेन्द्रको वरीयतामा एक स्थान सुधार

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार जारी गरेको टी-२० ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गरेका छन्।

नयाँ वरीयताअनुसार दीपेन्द्र ५९औँ स्थानमा रहेका हुन्। दीपेन्द्रले ४ सय ६६ रेटिङ अंक प्राप्त गरेका छन्। ६०औँ स्थानमा न्युजिल्यान्डका चर्चित खेलाडी काने विलियम्सन रहेका छन्। विलियम्सनले ४ सय ६५ अंक जोडेका छन्।

टी-२० ब्याटिङ वरीयतामा नेपालका कुशल भुर्तेलको वरीयता यथावत् रहेको छ। नयाँ वरीयतामा कुशल ५४औँ स्थानमै रहेका छन्। अमेरिका र ओमान भ्रमणपछि टोलीबाट बाहिर रहेका कुशलले ४ सय ७८ रेटिङ अंक जोडेका छन्। कुशलपछि श्रीलंकाका कुशल मेन्डिस रहेका छन्। टी-२० ब्याटिङ वरीयतामा पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा रहेका छन्।

उनले सर्वाधिक ८ सय ६१ रेटिङ अंक जोडेका छन्। दोस्रो स्थानमा भारतका सूर्यकुमार यादव रहेका छन्। यादवले २ स्थान सुधार गरेका छन्। सूर्यकुमारले ७ सय ९९ रेटिङ अंक हात पारेका छन्।

यसैगरी, टी-२० अलराउन्डर वरीयतामा दीपेन्द्रको स्थान यथावत् छन्। उनी १०औँ स्थानमा छन्। उनले १ सय ५१ रेटिङ बटुलेका छन्। नवौँ स्थानमा युएईका रोहन मुस्तफा र ११औँ स्थानमा दक्षिण अफ्रिकाका एडेन माक्राम छन्। अलराउन्डरतर्फ अफगानिस्तानका मोहमद नावी शीर्ष स्थानमा उक्लेका छन्। उनले सर्वाधिक २ सय ४३ रेटिङ अंक प्राप्त गरेका छन्। बंगलादेशका सकिव अल हसन दोस्रो स्थानमा झरेका छन्।

नेपालका सन्दीप लामिछानेले टी-२० बलिङ वरीयतामा १ स्थान सुधार गरेको आइसिसीले जनाएको छ। नयाँ वरीयताअनुसार सन्दीप ६१औँ स्थानमा रहेका छन्। सन्दीपले ४ सय ४७ रेटिङ अंक पाएका छन्। सन्दीपभन्दा अगाडि श्रीलंकाका लाहिरू कुमारा छन्। टी-२० बलिङ वरीयतामा अस्ट्रेलियाका जोस हेजलउड शीर्ष स्थानमा छन्। उनले सर्वाधिक ७ सय ३७ रेटिङ प्राप्त गरेका छन्।

यसैगरी, आइसिसी एकदिवसीय ब्याटिङ वरीयतामा नेपालका रोहितकुमार पौडेल ८१औँ स्थानमा रहेका छन्। उनले ४ सय ६२ रेटिङ अंक पाएका छन्।उनीभन्दा एक स्थान तल न्युजिल्यान्डका मिचेल सान्टनेर छन्। एकदिवसीय ब्याटिङमा पाकिस्तानका बाबर अजाम शीर्ष स्थानमा छन्। बाबरले सर्वाधिक ८ सय ९० रेटिङ अंक बटुलेका छन्। एकदिवसीय बलिङमा सन्दीप ३४औँ स्थानमा रहेका छन्। उनले ५ सय ३४ अंक बटुलेका छन्। भारतका कुलदीप यादव ३३औँ स्थानमा छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×