मस्को। रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनबीच मंगलबार फोनवार्ता भएको समाचारमा जनाइएको छ। उनीहरुबीच मंगलबार फोनमा कुराकानी भएको क्रेमलिनले जानकारी दिएको हो। यसअघि पनि उहाँहरुबीच गत हप्तामात्र कुराकानी भएको थियो। मंगलबार भएको सो फोनवार्तामा खास गरी उहाँहरुबीच युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ। त्यसक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सेली राष्ट्रपति म्याक्रोनसँग त्यहाँको विवाद समाधान शान्तिवार्ताबाट गर्नुपर्नेमा जोड दिएका थिए। कुराकानीमा युक्रेनबारे पनि छलफल भएको थियो। युक्रेनको पछिल्लो अवस्थाबारे पुटिनले म्याक्रोनलाई जानकारी गराएको क्रेमलिनले जानकारी दिएको छ। क्रेमलिनले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उहाँहरुका बीचमा नेटोका विषयमा पनि कुराकानी भएको बताइएको छ। दुई देशका राष्ट्रप्रमुखबीच हालैका दिनमा विश्वमा कोभिड १९ ले पारेको प्रभावबारे पनि कुराकानी भएको र उहाँहरु यो महामारीको नियन्त्रणका लागि संयुक्त रुपमा मिलेर लड्ने बारेमा सहमति भएको जनाइएको छ।