काठमाडौँ - भारतको तीन दिने औपचारिक भ्रमणका लागि दिल्लीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गरेका छन्। हैदरावाद हाउसमा शनिबार करिब पौनै घन्टा लामो विशेष भेटवार्तामा दुवै सरकार प्रमुखहरू द्विपक्षीय सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउन र सहकार्यलाई फराकिलो बनाउन सहमत भएका हुन्।
नेपाल भारतबीच अल्झिएका विषयलाई आपसी विश्वास र हितका आधारमा समाधान खोज्दै दुई पक्षीय सम्बन्ध र सहयोगलाई थप बलियो बनाउने सहमति भएको छ। दुई प्रधानमन्त्रीबीच मात्रको प्रत्यक्ष वार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच पनि सामूहिक छलफल भएको थियो।
हैदरावाद भेटवार्ता र प्रतिनिधिमण्डलबीचको छलफलपछि आयोजित पत्रकार सम्मेलनलाई दुवै प्रधानमन्त्रीहरूले संयुक्त रूपमा सम्बोधन गरेका थिए। हैदरावाद वार्तामा प्रधानमन्त्री देउवाले सीमा समस्याका समाधानका लागि संयुक्त संयन्त्रको प्रस्ताव गरेका थिए र त्यसमा मोदीले सकारात्मक प्रतिक्रिया जनाएका थिए।
दुई प्रधानमन्त्रीबीचको वार्ता सीमा समाधान, सुरक्षा चासो, ऊर्जा विकासको साझेदारी र सहकार्य एवं आर्थिक विकासका लागि सम्पर्क सञ्जाल बढाउने विषयमा केन्द्रित थियो।
शीर्ष वार्तापछि हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले पारस्परिक हितलाई ध्यानमा राख्दै सहयोग र सहकार्यलाई विस्तार गर्ने सम्बन्धमा समकक्षी भारतका प्रधानमन्त्री मोदीसँग सकारात्मक छलफल भएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।