काठमाडौँ - आईसीसी टि-२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा श्रीलंका र नेदरल्यान्ड्सबीच जिलोङमा बिहान पौने १० बजे खेल हुँदैछ।
विश्वकपको सुपर १२ मा पुग्न श्रीलंकालाई आजको खेल जित्नैपर्ने दबाब छ। नेदरल्यान्ड्स विजयी हुँदा समूह विजेताका साथ सुपर १२ मा पुग्नेछ। तालिकामा ४ अंकका साथ शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्स पराजित भएमा अन्य टोलीको नतिजामा निर्भर हुनेछ। श्रीलंका नामिबियासँग पराजित भएको थियो।
आज हुने दोस्रो खेलमा नामिबिया र युएई खेल्दैछन्। नामिबिया र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट जिलोङमा सुरु हुनेछ।
नामिबियाले युएईलाई हराउन सकेमा लगातार दोस्रो पटक सुपर १२ मा पुग्नेछ। युएईलाई सुपर १२ मा पुग्न ठूलो अन्तरको जित आवश्यक छ भने नेदरल्यान्ड्सले श्रीलंकालाई पनि हराउनुपर्छ।
सुपर १२ को समूह ‘ए’ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता रहनेछन्। सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता हुनेछन्।