राष्ट्रियसभामा तालमेल अपरिहार्य, प्रतिनिधिसभामा कांग्रेस एक्लै चुनावमा जान्छ : कृष्णप्रसाद सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेसले चुनावी तालमेल गर्ने स्पष्ट पारेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा सिटौलाले राष्ट्रियसभाको निर्वाचन प्रणालीअनुसार कांग्रेस एक्लै लडेर अपेक्षित परिणाम निकाल्न नसक्ने भएकाले तालमेल आवश्यक भएको बताए।

तर उनले यसलाई राजनीतिक गठबन्धनका रूपमा बुझ्न नहुने स्पष्ट गर्दै प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेस आफ्ना नीति, सिद्धान्त र विचार लिएर एक्लै जनतामाझ जाने बताए। आम निर्वाचन पार्टीको वैचारिक पहिचान स्थापित गर्ने माध्यम भएको उल्लेख गर्दै कांग्रेसले जनतासामु आफ्नै एजेन्डा प्रस्तुत गर्ने सिटौलाको भनाइ थियो।

नेता सिटौलाले पार्टीमा विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गर्दै केन्द्रीय कार्यसम्पादन समितिको निर्णय सबैले मान्नुपर्ने बताए। अब आन्तरिक प्रतिस्पर्धा होइन, बाह्य प्रतिस्पर्धा अर्थात् निर्वाचनमा केन्द्रित हुने समय आएको उनको भनाइ थियो।

उनले आगामी निर्वाचनपछि १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय भइसकेकाले त्यसतर्फ सबै केन्द्रित हुनुपर्ने बताए। महाधिवेशन आन्तरिक प्रतिस्पर्धा र निर्वाचन बाह्य प्रतिस्पर्धा भएको उल्लेख गर्दै अहिले आन्तरिक कलह नगरी एकताबद्ध भएर चुनावी तयारीमा जुट्न उनले कार्यकर्तालाई आह्वान गरे।

कांग्रेस एकताबद्ध भएर निर्वाचनमा जान सके राम्रो परिणाम ल्याउन सकिने सिटौलाको निष्कर्ष छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×