काठमाडौँ - भारतीय अभिनेत्री अर्पिता चटर्जीको फ्ल्याटबाट २९ करोड भारु नगद र ५ किलो सुन बरामद गरिएको छ।
प्रवर्तन निर्देशनालय (ईडी)ले बुधवार बेलघारियामा रहेको उनको दोस्रो फ्ल्याटमा छापा मारेको थियो। १८ घण्टा सम्म चलेको छापामा ईडीले २९ करोड नगद र ५ किलो सुन बरामद गरेको हो। नोट गणना गर्न मात्र तीन वटा मेसिन लगाइएको थियो।
शिक्षक भर्तीमा घोटाला गरेको आरोप लागेपछि बङ्गालका वरिष्ठ मन्त्री पार्थ चटर्जी हिरासतमा छन्। चटर्जीको नजिकको सहयोगी अर्पिताको घरमा ईडीले रेड मार्दा उक्त रकम भेटाएको हो।
यसअघि २३ जुलाईमा ईडीले मन्त्री पार्थ चटर्जी र अर्पिताको घरमा छापा मारेको थियो। हालसम्म अर्पिताको दुवै घरबाट ५० करोडभन्दा बढी भारु र ठूलो मात्रामा सुन बरामद गरेको छ।
प्रवर्तन निर्देशनालयले उनको आवासीय परिसरबाट २९ करोड रुपैयाँ बरामद गरेपछि पक्राउ परेकी अर्पिता मुखर्जीले पार्थ चटर्जीले आफ्नो घरलाई "मिनी बैङ्क" को रूपमा प्रयोग गरेको बताएकी छिन्।