खोप केन्द्रमा नआउँदा समस्या

काठमाडौँ - रुकुम (पूर्व) मा विभिन्न ठाउँमा खोप अभियान सञ्चालन गर्दा पनि खोप लागाउने लक्षित उमेर समूहका व्यक्ति खोप केन्द्रसम्म नआउँदा समस्या भएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले बताएको छ। 

रुकुममा खोप पर्याप्त भए पनि लगाउने व्यक्तिको अपेक्षित उपस्थिति नहुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवम् कोरोना रोग नियन्त्रण फोकल पर्सन नीमप्रसाद गिरीले बताए। उनका अनुसार जिल्लामा खोप लगाउने लक्षित जनसङ्ख्या ४५ हजार ३६९ हो। अहिलेसम्म ३३ हजार ५५१ जना अर्थात् ७३ प्रतिशतले कोभिडविरुद्धको पहिलो डोज लगाएका छन् भने २९ हजार ५०१ जना अर्थात् ६५.०२ प्रतिशतले दोस्रो मात्रा लगाएका छन्। 

कोरोना फोकल पर्सन गिरीका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिकामा नौ हजार १६४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने आठ हजार १३० जनाले दोस्रो मात्रा लगाएका छन्। त्यहाँको खोप लगाउने लक्षित जनसङ्ख्या १५ हजार ४८७ हो। भूमे गाउँपालिकामा ११ हजार ९८२ जनाले पहिलो  मात्राको खोप लगाएका छन् भने १० हजार ४३० जनाले दोस्रो मात्राको खोप लगाएका छन्। त्यहाँको लक्षित जनसङ्ख्या १८ हजार ८१३ हो।

सिस्ने गाउँपालिकाका १२ हजार ४०५ जनाले पहिलो मात्रा लगाएका छन् भने १० हजार ९८२ जनाले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। यस गाउँपालिकाको लक्षित जनसङ्ख्या १४ हजार ६८ हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×