मनाङको विकासमा मौसम बाधक

काठमाडौँ । धेरै स्थानमा गर्मी मौसममा विकास निर्माणका काम गरिन्छ।
 
कुनै स्थानमा गर्मी लाग्ने अवस्थामा केही विकासका काम गरिन्छन्। हिमाली जिल्ला मनाङमा न गर्मीमा न हिउँदमा विकास निर्माणका काममा कठिनाई हुने गरेको छ। जाडो मौसममा यहाँको विकास निर्माण पूर्ण रुपमा प्रभावित भइरहेको छ। यसपटक गर्मीमा मौसम परिवर्तनका कारण बाढीपहिराले समस्या निम्त्याइरह्यो। हिउँद लाग्नासाथ मौसम बद्लीएर हिमपात सुरु भयो। हिमपातसँगै निर्माण कार्य प्रभावित भयो। 

प्रकृति नै बाधक बन्दा यहाँको विकासमा बाधा पुगेको छ। बाढीपहिरा खस्न छाडेपछि केही विकासका काम थालिएपनि त्यसले निरन्तरता पाउन नसकेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। “यहाँको विकास गर्न प्रकृतिनै बाधक बनेको छ। दुवै मौसममा निर्माण  कार्य गर्न सकिँदैन। केही समय काम गर्न सुरुआत मात्रै गर्ने र पूरा गर्न नपाउँदै अर्को मौसम सुरु हुन्छ जसले निर्माणको काम गर्न सक्ने अवस्था हुँदैन,” उनले भने। मनाङको प्रवेशद्वार नासों गाउँपालिकाको धारापानीसम्म मात्रै सवारी आवतजावत हुने गरेको आचार्य बताउँछन्। 

हिउँदमा विकास निर्माण गर्नुपर्ने भएपनि त्यसो गर्न नसकिएको उनको भनाइ छ। गर्मीमा बाढीपहिराले सामग्री ढुवानी हुन नसक्दा निर्माण कार्य हुन नसकेको र हिउँदमा हिमपातले सवारीसाधन आवतजावत हुन नसक्दा निर्माण कार्य हुन नसकेको प्रजिअ आचार्यले बताए। उनी भन्छन्, “हिउँद सुरु भएसँगै हिमपातले सवारीसाधन आवतजावत रोकियो। विकास निर्माणका काम रोकिए। विकास निर्माणमा आवश्यक  सामग्री ल्याउन नसकिने र ल्याएर राखिएका सामग्री हिमपातले जमेर काम नलाग्ने भएका छन्। विकास निर्माणले कहिले गति लिने यस्ता अवस्थामा?”
 
गर्मीमा बाढीले भत्किएको पुल मर्मत गर्न थालिएपनि अझै पुरा भएको छैन। पुल निर्माणार्थ आवश्यक पर्ने सामग्री ढुवानी गर्न नसक्दा अहिलेसम्म पुल मर्मतको काम अलपत्र छ। बाढीले भत्किएका सामुदायिक एवं व्यक्तिगत आवास निर्माण गर्न सकिएको छैन। हिमपातले सामग्री मनाङसम्म ल्याउन मुस्किल पर्ने हुँदा अलपत्र परेको प्रजिअ आचार्य बताउँछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×