बैतडी - स्थानीय प्रशासनले बैतडीका १२९ मतदान स्थलमध्ये सुरक्षाका दृष्टिकोणले ३१ मतदान स्थल अति संवेदनशील र ३४ मतदान स्थल संवेदनशील गरेर ६५ मतदान स्थल संवेदनशीलको सूचीमा राखेको छ। प्रतिनिधि सभा र प्रदेश सभाको मङ्सिर ४ गते हुने निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र कम संवेदनशील गरेर तीन भागमा वर्गीकरण गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयहरूलाई आधार मानेर निर्वाचन स्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो। उहाँका अनुसार प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर मतदान स्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो।
मतदान स्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण भइरहेको छ। बैतडीका १० स्थानीय तहमध्ये सिगास गाउँपालिकाबाहेकका सबै पालिकामा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो। मतदान स्थलको अनुगमनपछि मतदान केन्द्र, मतदान स्थल, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरेर सुरक्षा योजना तयार गरेर सुरक्षालाई थप प्रभावकारी बनाउन स्थलगत अध्ययन र अनुगमनको काम भइरहेको उहाँले बताउनुभयो। बैतडीका १० स्थानीय तहमा १२९ मतदान स्थल २१० मतदान केन्द्र रहेका छन्।
गोरखापत्र अनलाइनबाट साभार