झापा। कचनकवल गाउँपालिका–२ स्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सो पालिका वडा नम्बर ४ का ४० वर्षीय शेषलाल राजवंशी रहेका छन् भने घाइते हुनेमा सोही वडाका २७ वर्षीय शिवलाल माझी र ४४ वर्षीय सजन राजवंशी रहेका छन्। घाइते दुवैको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । मे४प ९५०० नम्बर र डब्जु वी ७४ पी ९७१७ नम्बरको मोटरसाइकल एकापसमा जुध्दा सो दुर्घटना भएको थियो। घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ।
यसैगरी, दमक नगरपालिका–१ स्थित रतुवा खोलाको बगरबाट आठ केजी गाँजासहित एक व्यक्तिलाई आजै प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम माङसेबुङ गाउँपालिका–६ का ४६ वर्षीय वीरकुमार राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए। उनलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान प्रहरीले अनुसन्धान गरिरहेको छ।