काठमाडौँ - पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।
हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ। हिमपातका कारण मनाङमा सुरु भएको खोप अभियान प्रभावित भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए। उनका अनुसार माथिल्लो मनाङ र नार्पाभूमि गाउँपालिकामा खोप अभियान चलिरहेकै अवस्थामा हिमपातले प्रभाव पारेको हो। घरबाट बाहिर निस्कन सक्ने अवस्था नभएपछि खोप अभियान स्थगित गरिएको उनले बताए। “मौसम अनुकूल भएपछि खोप अभियान सुचारु गर्नेछौँ,” आचार्यले भने।
पहाडी क्षेत्रमा वर्षा भएसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ। हिमपातका कारण घरबाट बाहिर निस्कने अवस्था नहुँदा यस जिल्लाको जनजीवन पनि कष्टकर भएको छ। पछिल्लोपटक भएको हिमपात भारी मात्रामा रहेकाले अन्य कार्यक्रमहरु पनि प्रभावित रहेको र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको आचार्यले बताए। प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भारी मात्रामा हिमपात भएकाले जिल्लावासी तथा पर्यटकलाई घरबाट बाहिर ननिसक्न आग्रह गरिएको बताए।
कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन सङ्क्रमणको जोखिमका कारण जिल्लामा पर्यटक न्यून भए पनि सचेत रहन आग्रह गरिएको छ।