काठमाडौँ । ताराखोला गाउँपालिकाले बाँझो जमिन सदुपयोग गर्ने नीतिमार्फत काम थालेको छ।
गाउँपालिकाले कृषि उत्पादनमा जोड दिँदै ५०० रोपनी जग्गा लिएर आफ्नै उत्पादनको केन्द्र बनाउने योजना अगाडि सारेको हो। यसका लागि ६५ रोपनी जमिन १० वर्षका लागि भाडामा लिइसकेको छ। वडा नंं ४ को नागबेली खोलामा उक्त जग्गा लिएको अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए। जग्गा सदुपयोग गरेर आलुखेती गर्ने र किसानलाई नमूना फार्मका रुपमा देखाउने लक्ष्य रहेको उनले सुनाए। “हामीले आफ्नो उत्पादन केन्द्र देखाएर अन्य किसानलाई पनि प्रेरित गर्ने भनेका छौँ”, उनले भने, “त्यसका लागि जग्गाको खोजीमा लागेका छौँ।” ताराखोलाको दुई हजार ३०० मिटर उचाइमा बाख्रापालन गर्ने र व्यावसायिक बनाउने योजना रहेको उनले जानकारी दिए।
ताजा तरकारी उत्पादनमा पनि यो अभियान जोडिने बताइएको छ। गाउँपालिकाले समपूरक कोष र विशेष अनुदानसमेत जुटाएर यो काम गर्ने लक्ष्य राखेको छ। यो अभियान पूरा गर्न कम्तीमा रु. १० करोडसम्म लाग्ने अनुमान छ। पहिलो चरणमा भने सानो रकमबाटै काम थाल्ने उनले जानकारी दिए। पालिकाले पहिलो वर्ष लिएको घरघरै उद्यमी बनाउने योजनामा यो कार्यक्रम सहयोगी हुनेछ। ताराखोलामा विशेषगरी आलु, मूला, साग, च्याउजस्ता तरकारी खेती हुने गर्छ। साथै, मौसमी तरकारीको उत्पादनलाई पनि बजारीकरण गर्ने योजनाअनुसार सङ्कलन र बिक्रीको प्रबन्धमा किसानलाई नै अगुवाइ गर्न लगाएको ताराखोला ४ का वडाध्यक्ष जीतबहादुर खत्रीले बताए।
अलैँची र किबी नगदेबाली पनि यहाँ व्यावसायिकरुपमा उत्पादन भइरहेका छन्। कम्तीमा १० टन अलैँची अहिले पनि उत्पादन भइरहेको स्थानीय इन्द्र रोकाले बताए। कतिपय स्थानमा सिँचाइका आयोजना सञ्चालन गरेमा बाँझो जमिन उपयोग हुने योजना छ। चालू वर्ष अर्गल सिँचाइ आयोजना सुरुआत छ। वडा नं १ देखि ५ सम्म सिँचाइका लागि पोखरी निर्माणमा पनि गाउँपालिकाले लगानी गरेको छ। उद्योगतर्फ घरेलु प्रकारका बढी छन्। जसमा ढुङ्गाखानी, ढाका बुनाइ, नेपाली हाते कागज जस्ता सामान यहाँ उत्पादन भरहेका छन्। भाँगो लगायतका मगर ममुदायले लगाउने अन्य पोशाक पनि बनाएर कमाइको माध्यम बनाउने छन्। उनीहरूलाई सूचिकृत गर्ने, बीउ पुँजी दिएर उत्पादनलाई व्यावसायिक बनाउन लगाउने योजना उनले सुनाए। ताराखोलामा हाल पाइने रातो च्याउलाई व्यवस्थित रूपमा उत्पादन गरेर बजारीकरणमा लगाउन ग्रामीण किसानलाई तालिमसमेत दिने योजना छ।
हाल भाँगोलाई चटनीका रूपमा प्रयोग गरे पनि सरकारी तहबाट भने गाँजाका रूपमा चित्रण हुँदा बेलाबेला नष्ट गर्नेक्रम चल्छ। संसदमा गाँजाको व्यावसायिक खेतीलाई अनुमति दिने गरी कानुनको मस्यौदा तयार भएकाले किसान उत्साही छन्। “अनुमति पाएर व्यावसायिक खेती गर्नसकेमा धेरै राम्रो हुन्छ”, उपाध्यक्ष दिलकुमारी रोकाले भने, “राज्यले कर लिए पनि यो व्यावसायिक र उत्पादनमुखी बन्नेछ।” बाँझो जमिन उपयोगमा भाँगोले पनि स्थान पाउने उनले बताए।