काठमाडौँ - इरानमा चलिरहेको हिजाब विरोधी प्रदर्शनको आगो विश्वभर फैलन थालेको छ। इरानी महिलाको पक्षमा हलिउड, बलिउडदेखि संसारका अन्य मुलुकका मनोरञ्जन जगतका सेलिव्रिटी पनि खुल्न थालेका छन्।
एन्जेलिना जोलीदेखि प्रियंका चोपडासम्मका विश्व स्टारहरु इरानी महिलाको पक्षमा खुलेका छन्। अभिनेत्री चोपडाले मौन रहेका आवाजहरु आउने समयमा अझै ज्वालामुखीजस्तै फुट्ने बताएकी छिन्। साथै उनले इरानी महिलाहरुको हिम्मत र साहसलाई पनि सलाम भनेकी छिन्। प्रियंकाबाहेक दुनियाँका अन्य हस्ती पनि यो आन्दोलनको पक्षमा खुल्न थालेका छन्।
हलिउड अभिनेत्री एन्जेलिना जोलीले पनि सामाजिक संजालमा पोस्ट सेयर गर्दै आन्दोलनप्रति समर्थन जनाएकी छिन्। इरानी अन्दोलनको तस्वीर सेयर गर्दै जोली लेख्छिन्, ‘बहादुर इरानी महिलालाई सम्मान छ जो वर्षौंदेखि चलिआएको सोचविरुद्ध लड्न सडकमा उत्रिएका छन्।’
‘म महसा अमिनी र इरानी र महिलाहरुको सम्मान गर्छु। महिलामाथि दबाब सिर्जना गर्ने, उनीहरुलाई नियन्त्रण गर्ने र गलत काम सिकाउनु जरुरी छैन। उनीहरुलाई पनि स्वतन्त्रतापूर्वक बाँच्ने र खुला श्वास लिन पाउने अधिकार छ’ जोली लेख्छिन्।
इरानी फिल्म निर्देशक तथा ओस्कार अवार्ड विजेता असगर फरहादीले पनि यस समय इरानी महिलाको पक्षमा एकजुट हुन संसारभरका मानिसलाई आग्रह गरेका छन्। इरानी प्रहरीले ठीक ढंगले हिजाब नलगाएको भन्दै किशोरी महसा अमिनीलाई पक्राउ गरेको थियो। त्यसपछि प्रहरी हिरासतमै उनको मृत्यु भएको थियो। प्रहरीले उनको शारीरिक अस्वस्थताले मृत्यु भएको दावी गरेको छ भने आन्दोलनकारीले कुटपिटले मृत्यु भएको बताएका छन्।
इरानी महिलाहरु यतिबेला आन्दोलनमा छन् भने उनीहरुलाई समर्थन गर्दै संसारभर आन्दोलन चर्किएको छ।