काठमाडौँ- सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनसम्मका लागि एमसीसी अगाडि नबढाउन प्रस्ताव गरेको जानकारी प्राप्त भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले चालु संसद्बाटै अमेरिकी सहयोग परियोजना मिनेलियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी गरिरहेको बेला दाहाल र नेपालको यस्तो प्रस्ताव आएको हो।
उच्च स्रोतका अनुसार स्थानीय तहको निर्वाचनसम्म एमसीसी संसदमा पेस नगर्न र त्यसपछि साझा सहमति बनाएर मात्र अगाडि बढ्न प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन्।
आगामी माघ २६ गते सभामुख अग्नि सापकोटाले संसद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री देउवाले सोही बैठकमा एमसीसी टेबुल गर्ने गृहकार्य गरिरहेका छन्। तर, सत्ता गठबन्धनमा साझा समझदारी नबनेको अहिलेको अवस्था र प्रचण्ड–नेपालले आग्रहका कारण माघ २६ गतेको लागि बोलाइएको बैठक स्थगित गरेर पुनः अर्को मिति तय गर्ने सम्भावना बढेको छ।
लामो समयसम्म एमसीसीलाई लम्ब्याएर राख्न नहुने, संसद्मा पेस गरेर तत्काल अगाडि बढाउनुपर्ने अडान राख्दै आएका प्रधानमन्त्री देउवाले तेस्रो पटक पुनः एमसीसी परियोजना संसद्बाट अगाडि बढाउने योजना अगाडि सारेका छन्। एमसीसी पारित गर्न सत्ता गठबन्धनभित्रबाट असहयोग भएको अवस्थामा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेको समेत साथ लिएर अगाडि बढ्ने नीति लिएको स्रोतको दाबी छ।
प्रधानमन्त्री देउवाले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर संसद्को अवरोध हटाउन र एमसीसी पारित गर्न सहयोगको लागि आग्रहसमेत गरेका थिए। एमालेले भने एमसीसी पारित गर्नको लागि सभामुख अग्नि सापकोटाविरुद्ध कांग्रेसले महाअधियोगको प्रस्ताव ल्याउनुपर्ने शर्त अगाडि सारेको छ। यतिखेर एमसीसीलाई लिएर सत्ता गठबन्धन नै संकटमा पर्ने हो कि भन्ने आशंका पनि उब्जिएको छ। आजको नेपाल समाचारपत्रमा खबर छ।