कैलाली - उम्मेदवारीको मनोनयन दर्ता गराउने सोमबार अन्तिम दिन जिल्लाका पालिका तहमा मनोनयन गर्न आउनेको थेगिनसक्नु भीड लागेको थियो। थेग्नै नसक्ने गरी भीड लागेपछि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको काम पनि अबेर रातिसम्म भएको थियो। उम्मेदवारी दिन चाहने अधिकांश एकसाथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि देखिएको भीडले उम्मेदवारी दर्ताको काम केही असहजसमेत बनेको देखिन्थ्यो।
कैलारी गाउँपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले भने, “सर्वदलीय बैठकमा उम्मेदवारी दर्ताका लागि पालैपालो आउन आग्रह गरेका थियौँ, तर आज उहाँहरू एकसाथ आउँदा दर्ता काममा केही असहजता महसुस भएको छ।” भीड लागे पनि उम्मेदवारी दर्ताको काम शान्तिपूर्ण र उत्साहजनक वातावरणमा भएको निर्वाचन अधिकृतले जानकारी दिए।
सत्ता साझेदार दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले जिल्लाका १३ पालिकाको प्रमुख तथा उपप्रमुखमा तालमेल गरेर उम्मेदवारी दिने सहमति गरेका थिए। सहमतिअनुसार काँग्रेसले सात, माओवादीले चार र एकीकृत समाजवादीले दुई पालिकाको प्रमुखमा उम्मेदवारीको मनोनयन दर्ता गराएको छ। यी दलबीच पालिका तहका प्रमुख, उपप्रमुखमा तालमेल भए पनि सहमति जुट्न नसकेका वडा तहका पदमा भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए।