यूएस ओपनः नाडाल चौथो चरणबाटै बाहिरिए

काठमाडौँ - कीर्तिमानी २३औँ ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेका राफेल नाडाल यूएस ओपन टेनिसको चौथो चरणबाट बाहिरिएका छन्। नाडाल अमेरिकाका फ्रान्सेस टियाफोसँग ३-१ को सेटमा पराजित भएका हुन्।

स्पेनका नाडाल सन् २०२२ मा ग्रान्डस्लाममा पराजित भएको यो पहिलोपटक हो। नाडालले यसअघि अष्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितेका थिए। यूएस ओपनमा चारपटकका विजेता नाडाल टियाफोसँग ६-४, ४-६, ६-४ र ६-३ को स्कोरमा पराजित भएका हुन्।

'आजको दिन केही विशेष रह्यो' नाडाललाई हराएपछि २४ वर्षीय टियाफोले भने, 'मलाई थाहा छैन के भन्ने। धेरै खुसी छु। उनी यो युगकै उत्कृष्ट खेलाडी हुन् । र, मैले उनीविरुद्ध अविश्वसनीय प्रदर्शन गरेँ।'

घरेलु दर्शकमाझ विजय हासिल गरेका टियाफोले अब रुसका आन्द्रे रुबलेभसँग प्रतिस्पर्धा गर्नेछन्। नवौँ वरीयताप्राप्त रुबलेभले सातौँ वरीयताप्राप्त बेलायतका क्यामरुन नोरीलाई ३-० को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन्। रुबलेभले नोरीलाई ६-४, ६-४ र ६-४ को स्कोरमा पराजित गरेका हुन्।

नाडालको बाहिरिएसँगै अब यसअघि यूएस ओपन उपाधि जित्ने मारिन सिलिच एक मात्र खेलाडी छन्। सिलिचले २०१४ मा उपाधि जितेका थिए। सिलिचले चौथो चरणमा तेस्रो वरीयताप्राप्त स्पेनका कार्लोस अल्कारेजविरुद्ध प्रतिस्पर्धा गर्दैछन्।

यसअघि, यूएस ओपनको क्वार्टरफाइनलमा इटालीका माटेयो बेरेट्टिनी, कास्पर रुड, निक किर्गियोस र करिन खाचनोभले स्थान बनाइसकेका छन्। बेरेट्टिनीले रुडसँग प्रतिस्पर्धा गर्नेछन्। किर्गियोसले खाचनोभविरुद्ध खेल्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×