काठमाडौँ - काभा यू-२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ।
नेपाली टोली मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो। नेपाली टोलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो।
काभा यू-२३ पुरुष भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ। ४ टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा हुनेछ।
नेपालले च्याम्पियनसिपको पहिलो खेलमा पुस ७ गते आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो खेलमा ८ गते श्रीलंकासँग र ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ। लिग चरणपछि पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहनेबीच सेमिफाइनल खेल हुनेछ। सेमिफाइनल विजेताले फाइनल खेल्नेछन्।
नेपाली टोलीमा
धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गुरौ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीमराज गुरुङ