काठमाडौँ - अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को छायांकनबिनै मुम्बईबाट काठमाडौँ फर्किएका छन्। गत महिना त्यसतर्फ लागेका उनी सुटिङ नभएपछि फर्किन बाध्य भएका हुन्।
‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने उक्त फिल्ममा रणवीर कपुर, रश्मिका मन्दाना, अनिल कपुर, परिणिती चोपडा लगायतको मुख्य भूमिका रहेको छ। विपिन पनि महत्वपूर्ण भूमिकामा अनुबन्धित भइसकेका हुन्।
मुम्बईमा एनिमलको छायांकन पनि भइरहेको छ। त्यसयता विपिन ६ पटक काठमाडौँ - मुम्बई आउजाउ गरे। ‘आज ठ्याक्कै १ वर्ष २१ दिन भयो एनिमल भन्दै बसेको। उता पनि काम भएन र यता पनि भैरहेको छैन’ बिपिनले भने। ‘उता मुम्बईबाट फोन आउँछ र आउनुस् भनेका छन्,’ उनले भने।
विपिन यतिबेला निकै दबाबमा छन्। आगामी १ वर्षभित्र उनले ४ नेपाली फिल्ममा काम गर्नुपर्नेछ। जसमा प्रसाद २, डामाडोल, भष्मे डन र सफल केसीको अनटाइटल फिल्म। यी चारै फिल्ममा अनुबन्धित भइसकेका विपिनलाई दुईतिर सेड्युल मिलाउनुपर्ने बाध्यता छ।
‘एनिमल भनेर बसेको १ वर्ष भयो। नेपालमा पनि ४ फिल्म यस वर्ष गर्नुपर्ने हुन्छ। यता पनि मेरो नैतिक जिम्मेवारी छ,’ उनले भने, ‘छाडेकै स्थिति चाहिं होइन तर परिआए एनिमल छाड्ने स्थिति पनि आउन सक्छ।’ काम नहुँदा समय खेर गएकोप्रति उनको गुनासो छ।
‘मलाई मेरो पिकआवर खेर गइरहेको जस्तो लागिरहेको छ। अब मिलाएर अघि बढ्नुपर्छ। जे हुन्छ राम्रैको लागि हुन्छ,’ विपिनले भने।