काठमाडौँ - घरेलु टोली भारत र दक्षिण अफ्रिकाबीचको टी-२० सिरिजअन्तर्गत पाँचौं तथा अन्तिम खेल रद्द भएको छ। बैंग्लोरमा आइतबारका लागि तय भएको खेल वर्षाका कारण रद्द भएको हो। योसँगै सिरिज २-२ को बराबरीमा सकिएको छ।
एम चिन्नस्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ३.३ ओभरमा २ विकेट गुमाएर २८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सुचारु हुन सकेन।
खेल रोकिँदा कप्तान ऋषभ पन्त एक तथा श्रेयस अय्यर बिना कुनै रन क्रिजमा थिए। भारतका लागि इशान किशनले १५ र ऋतुराज गायकवाडले १० रन योगदान दिएका थिए।
दक्षिण अफ्रिकाका लागि दुवै विकेट लुङ्गी एनगिडीले लिगेका थिए। यसअघि दक्षिण अफ्रिकाले ७ र ४ विकेटको जित निकाल्दा भारत ४८ र ८२ रनले विजयी भएको थियो।