काठमाडौँ - बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की सोमबार मुम्बई पुगेका छन्। झण्डै १ महिना उनी मुम्बई र दिल्लीमा रहनेछन्।
‘के घर के डेरा’लाई प्रचारप्रसारमा समय दिनुपर्ने भएकाले विपिनको ‘एनिमल’ सेड्युलमा १० दिन ढिलो भएको थियो। बलिउड डेब्युलाई लिएर आफू उत्साहित रहेको विपिनले बताएका छन्।
‘म आफ्नो तर्फबाट मेन्टल्ली रेडी छु। मेरो करिअरका लागि पनि यो महत्वपूर्ण हुनेवाला छ,’ विपिनले भने। ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने फिल्ममा विपिन पनि खलपात्रमध्येकै एक चरित्रमा देखिंदैछन्।
फिल्ममा रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना लगायतको प्रमुख भूमिका रहने छ। आईएमडीबीका अनुसार यो फिल्म सन् २०२३ को अगस्ट ११ मा प्रदर्शन हुनेछ।