काठमाडौँ - ह्यारी केनले इंग्ल्याण्डका लागि ५० गोल पूरा गरेका छन्। यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जर्मनीविरुद्ध पेनाल्टीमा गोल गर्दै केनले ५०औं गोलको कोशेढुंगा पूरा गरेका हुन्।
उनी इंग्लयाण्डका लागि ५० गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। पूर्वकप्तान वायन रुनीले सर्वाधिक ५३ गोल गरेका छन्। केन इंग्ल्याण्डका लागि सर्वाधिक गोल गर्ने रुनीभन्दा अब ३ गोलले मात्र पछि छन्।
लिग ए अन्तर्गत समूह ए को खेलमा जर्मनीविरुद्ध १-१ को बराबरी खेल्दा केनले पेनाल्टीबाट गोल गर्दै आफ्नो टिमलाई हारबाट जोगाएका थिए। जर्मनीका निको सटरबकले केनलाई फल गरेपछि प्राप्त पेनाल्टीमा केन आफैंले गोल गरेका हुन्।
केनले इंग्ल्याण्डका लागि १५ गोल पेनाल्टीबाट गरेका छन्। उनले १८ पेनाल्टी प्रहार गर्दा १५ प्रहार गोलमा परिणत भएको हो।
केनपछि फ्रान्क लाम्पार्डले इंग्ल्याण्डका लागि ९ गोल पेनाल्टीबाट गरेका छन्।
केनले ३६ अन्तर्राष्ट्रिय गोल दायाँ खुट्टाले गर्दा ५ गोल बायाँ खुट्टाले गरेका छन् भने ९ गोल हेडमार्फत गरेका छन्।