लालपुर्जा वितरणका लागि तनहुँमा जग्गाको नापजाँच अगाडि बढ्यो

तनहुँ - भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि तनहुँमा जग्गा नापजाँचको काम अगाडि बढेको छ। राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो।

आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार शुक्लागण्डकी नगरपालिका–३, ८ र ९ मा जग्गाको नापजाँच भइरहेको छ। देवघाट गाउँपालिका–५ मा नापजाँच सकिए पनि केही छुटपुट भएकाले छुटपुट भएकालाई समेत समावेश गर्ने तयारी गरिएको उनले बताए। देवघाटकै वडा नं २ र ४ मा जग्गाको नापजाँच सुरु गर्ने तयारी गरिएको छ।

सदस्य कार्कीका अनुसार आँबुखैरेनी गाउँपालिकाका छवटै वडामा जग्गाको नापजाँच काम सकिएको छ। व्यास नगरपालिकाका जग्गा नापजाँचका लागि छलफल अगाडि बढाइएको छ। जग्गा नापजाँचका लागि आवश्यक उपकरण खरिदका लागि नगरपालिकाले बोलपत्र आह्वान गरिसकेको उनले बताए। उनले भने, “प्राविधिक कम भएका कारण पनि जग्गा नापजाँचको कामले तीव्रता पाउन सकेको छैन। हामीसँग उपलब्ध प्राविधिकलाई नै मिलाएर सबै स्थानीय तहमा खटाउनुपर्ने अवस्था छ।”

जग्गा नापजाँच सम्पन्न भएपछि फिल्ड ढड्डा उतारेर काम गर्दा प्रत्येक पालिकाका लागि एक महिना समय आवश्यक पर्छ। उनले भने, “जग्गा नापजाँच सुरु भएपछि धेरै काम अगाडि बढेको छ भन्ने महसुस सबैलाई हुन्छ। सोहीबमोजिम हामीले कामलाई अगाडि बढाइरहेका छौँ।” सदस्य कार्कीका अनुसार असारभित्रै अथवा नभए दशैँ अगाडि कुनै न कुनै पालिकामा लालपुर्जा वितरण गर्ने लक्ष्य छ।

यसैगरी भानु नगरपालिकामा पनि दशैँअघि सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणको तयारीसहित नापजाँच कार्य सुरु भएको छ। वर्षौँदेखि लालपुर्जाविहीन रहँदै आएका स्थानीयवासीलाई लालपुर्जा दिने उद्देश्यसहित भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएको छ। भानु नगरपालिका–१ स्थित नयाँबस्तीबाट जग्गाको नापजाँच कार्य सुरुआत गरिएको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×