काठमाडौँ - हुम्लाको नाम्खा गाउँपालिकाको लिमीवासीले निर्वाचन अगाडि नै वडाध्यक्ष र सदस्यहरु चुनेका छन्।
चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्यहरु चुनेका हुन्। वडाध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन्। उनी नेपाली कांग्रेसका हुन्। त्यस्तै, सदस्यमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएको स्थानीयवासी कुन्जोक तामाङले जानकारी दिए। उनका अनुसार अब औपचारिकता पूरा गर्नका लागि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनीहरूको मात्रै मनोनयन दर्ता हुनेछ र उनीहरूलाई नै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ। “गाउँलेहरूको भेलाले वडाध्यक्ष र सदस्य चुने र अब त्यसलाई प्रक्रिया पुर्याएर औपचारिकता दिन बाँकी छ”, उनले भने, “अघिल्लो स्थानीय तह निर्वाचनताका पनि त्यस्तै भएको थियो।”
नाम्खा गाउँपालिका–६ का तीन गाउँमा तीनवटा मतदान केन्द्र रहेका छन्। तीमध्ये सुनखानी आधारभूत विद्यालय हल्जीमा २२६, भृकुटी प्राथमिक विद्यालय जाङको मतदान केन्द्रमा २०५ र हिमशिखर प्राथमिक विद्यालय तिलमा ११० गरेर कूल ५४१ म्तदाता सङ्ख्या छ।