काठमाडाैं । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ। यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ ।
मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दैनिक दुई लाख जनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए ।
“अहिले पनि करिव दुई लाख जनाका हाराहारीमा खोप लगाइरहेका छौं”, उनले भने, “खोप लगाउन आएका कोहीलाई पनि खोप नलगाकन फर्काएका छैनाैं। खोपकेन्द्रमा आएका छन् सबैलाई खोप लगाएका छौं ।” उहाँका अनुसार मन्त्रालयले जनताको घरदैलोसम्म खोप पुर्याउनका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । “हामीसँग प्रसस्त्र मात्रामा खोप रहेको छ । अहिले पनि नियमित खोप आइरहेका छन्”, सहप्रवक्ता डा अधिकारीले उनले भने, “खोप लगाउन कोही पनि नछुटुन भनेर जनताको घरदैलोसम्म खोप लगाउने अभियान सञ्चालन गर्नसम्बन्धी जिल्लाका खोप केन्द्रलाई निर्देशन दिइसकेका छौँ ।”
उनले सर्वसाधारणमा कोभिड–१९ विरुद्धको खोप पुर्याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाइने बताए। उनले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपंक्तिमा काम गर्नेले खोप लगाइसकेको भन्दै अब स्थानीय तहमा पुगेर नै खोप लगाउन छुटेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए ।
उहाँका अनुसार अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ ।
अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् । तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । कूल जनसङ्ख्यामध्ये ३३।७ प्रतिशतले पहिलो मात्रा र २८।४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
सरकारले पुस मसान्तभित्र कूल लक्षितको दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।