काठमाडौँ - पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार १० खेलाडीमा सीमित लेन्सलाई १–१ को बराबरीमा रोक्दै दसौं पल्ट फ्रान्सेली लिग वान जितेको कीर्तिमान बराबरी गरेको छ।
पीएसजीले अर्जेन्टिनी खेलाडी लियोनल मेसीको गोलले ६८ औं मिनेटमा अग्रता लिएको थियो, तर लेन्सका लागि कोरनटिम जिनले खेल सकिन दुई मिनेट अगाडि बराबरी गोल फर्काए। बराबरीका बावजुद पनि पीएसजीले शीर्षमा दोस्रो स्थानको मार्सेमाथि १६ अंकको निर्णायक अग्रता लिएको थियो। लिगमा अब चार चरणका खेल मात्र बाँकी छन्। मउरिसो पोचेटिनोको पीएसजीले लिलबाट फेरि लिग उपाधि खोसेको हो।
गत सिजन लिलले अप्रत्यासित रूपमा लिग वानको उपाधि जितेको थियो। पछिल्ला दस सिजन पीएसजीले लिग जितेको यो आठौं पल्ट हो।