'गभर्नरको काम दिन दिनै मन्त्री भेट्ने होइन'

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत पूर्णरुपमा असफल भइसके । मन्त्री महतले आफ्नो असफलता छोप्न तीनजना अर्थसचिव फेरि सके । अर्थतन्त्र सुधारका नाममा कांग्रेसनिकट कर्मचारीलाई विभिन्न ठाउँमा सेट गर्न हालै ५०भन्दा बढी उपसचिवको सरुवा गरेका छन् ।

अर्थमन्त्री महतले पछिल्लो पटक अर्थसचिवमा कृष्णहरि पुस्करलाई ल्याएका छन् । विवादास्पद छवि भएका पुस्कर अर्थसचिवको रुपमा आएपछि अर्थमन्त्रालयका कर्मचारीहरूको मनोबल घटेको छ । अर्थशास्त्रमा अब्बल भएर होइन, आरजु राणाको दबाबमा पुस्करलाई अर्थसचिवको जिम्मेवारी दिएपछि अर्थतन्त्र थप डामाडोल हुने निश्चित छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा पनि मन्त्री महतको कडा आलोचना भयो । अधिकांश केन्द्रीय सदस्यहरूले अर्थमन्त्री निकम्मा भएकाले अर्थतन्त्र कमजोर भएको टिप्पणी गर्दै उनलाई फिर्ता बोलाउनुपर्ने माग राखेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि अर्थमन्त्रीको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । नेपाल उद्योग परिसंघको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र संकटमा भएको कुरा स्वीकार्दै अर्थतन्त्र सुधारका प्रयास पर्याप्त नभएको र यस्तै अवस्था रहे गम्भीर अवस्था आउन सक्ने बताएका थिए ।

आर्थिक वर्षको साउन र भदौमा कुल २ खर्व ५९ अर्व ७४ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ । यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यतिबेला विदेशी मुद्रा सञ्चिति घटेपछि ०७९ वैशाख १३ मा सरकारले राजपत्रमा सूचना प्रकाशन गरी मदिरा, तास, मोबाइल, टीभी, मोटरसाइकललगायत १० वस्तु आयात बन्देज गर्ने निर्णय गरेको थियो । तर, यस वर्ष कुनै पनि बस्तु प्रतिबन्ध नहुँदा पनि गत आर्थिक वर्षको तुलनामा १३ अर्ब ८४ करोड रुपैयाँ कम आयात भएर अर्थतन्त्र संकटमा परेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

चालु आर्थिक वर्षको साउन–भदौमा मुलुकको व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोडमा घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ व्यापार घाटा थियो । गत आर्थिक वर्षको साउन–भदौको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २३ करोडले निर्यात घटेको छ ।

गत आर्थिक वर्षको साउन र भदौमा २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा यस वर्ष सोही अवधिमा २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा व्यापार घाटा २ खर्ब ३३ अर्ब पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड थियो ।

एकातिर तथ्यांकले पनि अर्थतन्त्र डामाडोल अवस्थाको चित्रण गर्छ । अर्कोतर्फ, अर्थमन्त्री महतले नेपाल राष्ट्र बैंकको असहयोगको कारण अर्थतन्त्र सुधार्न नसकेको आरोप लागउने गर्छन् । नेपाल राष्ट्र बैंक स्वायत्त निकाय हो । अर्थमन्त्रीले जे जे भन्यो, राष्ट्र बैक त्यो त्यो गर्न बाध्य छैन । गभर्नरलाई दोष देखाएर आफु उम्कन खोज्नु मन्त्री महतको निकम्मापन हो ।

मन्त्री महत र गभर्नर महाप्रसाद अधिकारीबीच कतिसम्म तिक्ततापूर्ण सम्बन्ध छ भन्ने कुरा गभर्नर अधिकारीले हालै सार्वजनिक गरेका तितो सत्यबाट स्पष्ट हुन्छ ।

गभर्नर अधिकारीले भने–केन्द्रीय बैंकले गर्नुपर्ने कामहरू ऐनमै स्पष्ट छ । ऐन बमोजिम गर्नुपर्ने काम हामीले गरिरहेका छौँ । दिन दिनै मन्त्रीलाई भेट्न जानुपर्ने, हरेक दिन पोलिसीमा छलफल गर्ने काम गभर्नरको होइन । अर्थतन्त्रमा कहाँ समस्या आयो, किन आयो भन्ने विषयमा राष्ट्र बैंकले अध्ययन गरेको उनले बताए ।

गभर्नर अधिकारीले भने– अहिले पनि बजारमा तपाईहरूले सुनिरहेको भएको छ, बैंकले ऋण नदिएका कारणले अर्थतन्त्र चलायमान भएन रे । बजार चलायमान भएर ऋण चाहिएको हो कि ऋण दिएर बजार चलायमान हुने हो ? यस्तो खालको डिलेमा (दुविधा) हामी छौँ । हाम्रो प्रणालीले, तथ्यांकले हाम्रो कैयौं ठाउँमा थ्योरीलाई च्यालेञ्ज गरेको छ । फेरि पनि केन्द्रीय बैंकको स्वायत्तताको जुन भ्याल्यु छ, त्यो अन्त्यन्तै महत्वपूर्ण छ । राष्ट्र बैंकको स्वायत्तताको बिषय ऐनमै स्पष्ट छ । त्यसका अधिकार, कर्तव्य र सीमाहरू कानुनमै स्पष्ट रुपले उल्लेख गरिएका छन् । मूल्यस्थिरताको म्याण्डेडसहित राष्ट्र बैंकका सीमाहरू के के हुन् ? यो सबैधानिक रुपले कुन पोजिशनमा छ भन्ने कुरा ऐनले बोलेको छ ।

सरकारले दिएका निर्देशनहरू पालना गर्न राष्ट्र बैंक बाध्य हुन्छ कि हुन्न भनेर पनि स्पष्ट लेखिएको छ । यी बिषयहरूमा राष्ट्र बैंकलाई कानुनले स्पष्ट म्याण्डेड दिएको छ । अर्काे भनेको अपरेशनल प्राक्टिसको पक्ष हो । कानुनमा जे सुकै लेखिएको भएता पनि गभर्नरले हरेक दिन, हरेक हप्ता सरकारी मान्छे र मन्त्रीहरूलाई भेट्नुपर्छ, हरेक पोलिसीहरूमा छलफल गर्नुपर्छ भन्ने हो भने कानुनमा लेखिएका कुराहरूको के अर्थ हुने भयो ? गभर्नर अधिकारीले घुमाउरो पाराले अर्थमन्त्रीलाई जवाफ दिएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×