काठमाडौँ - नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित माल्दिभ्स पुलिस क्लब भलिबल एसोसिएसन कप २०२२ मा उपविजेता बनेको छ। माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा गएरातिको फाइनलमा क्लब वाम्कोसँग ३-० को सोझो सेटमा पराजित हुँदै पुलिस उपविजेता बनेको हो।
पुलिसले खेल २०-२५, १७-२५ र १२-२५ ले गुमाएको हो। वाम्को पहिलो सेमिफाइनलमा पुलिसलाई नै ३-२ को सेटमा पराजित गर्दै फाइनल पुगेको थियो।
पुलिसले तेस्रो सेमिफाइनलमा क्लब इगल्सलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।
क्लब वाम्को २०१९ को च्याम्पियन टोली हो। माल्दिभ्समा भएको प्रतियोगितामा नेपाली दुई खेलाडीले अवसर पाएका थिए। अर्की स्पाइकर उषाले धिवेही सिफाइन्ज क्लबबाट खेलेकी थिईन्।
घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेलिरहेका दुबै खेलाडीले पहिलो पटक विदेशी लिग खेलेका हुन्।