काठमाडाैँ - बलिउड अभिनेत्री कंगना रनावटले बलिउडमा व्याप्त नेपोटिज्मको बारेमा बेला बखतमा आफ्नो अभिव्यक्ति दिँदै आएकी छन्। जसले गर्दा उनी विवादमा पनि तानिरहेकी हुन्छिन्।
अभिनेत्री कंगना बलिउड फिल्म लगातार असफल हुनुको कारण स्टार किड्सलाई मान्छिन्। उनले भनेकी छिन्, ‘बलिउड फिल्म यसकारण चलिरहेका छैनन् किनकि आम दर्शकले स्टार किड्ससँग आफूलाई रिलेट गर्न सक्दैनन्। यही कारण हिन्दी फिल्म साउथ फिल्मसँग नराम्रोसँग हारिरहेको छ।’ बलिउडका स्टार किड्स उसिनेको अण्डा जस्तो देखिने गरेको समेत उनको टिप्पणी छ।
‘स्टार किड्स पढ्नका लागि विदेश जान्छन्। त्यहाँ अंग्रेजीमा बोल्छन् र हलिउड फिल्म हेर्छन्। उनीहरु चक्कु र काँटाबाट खान्छन् अनि अलग तरिकाले बोल्छन्। त्यस्ता स्टार किड्स दर्शकसँग कसरी जोडिन सक्छन्। अनि दर्शकले कसरी रिलेट गर्न सक्छन्। उनीहरु त उसिनेको अण्डा जस्तो देखिन्छन्,’ कंगनाले भनेकी छिन्।
साउथ फिल्म ‘पुष्पा’मा अभिनेता अल्लू अर्जुनले निर्वाह गरेको चरित्रसँग आम दर्शकले आफूलाई रिलेट गर्न सक्ने र त्यस्ता चरित्रमा मजदुरले पनि आफ्नो छाँया देख्ने भएकाले संसारभर साउथ फिल्मको क्रेज बढ्दो रहेको कंगनाको भनाई छ। तर, बलिउडका कुनै पनि हिरो मजदुर जस्तो नदेखिने उनको तर्क छ। बलिउड फिल्म देश र जनतासँग जोडिन नसकेको पनि उनी बताउँछिन्।